राप्रपा बैठक : सरकारलाई दिएको समर्थन फिर्ता लिन माग
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बसेको पूर्ण बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माग गरेका छन् । पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा दुई दिनदेखि बसुन्धराको दियालो फुडल्यान्डमा जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले वर्तमान सरकारको कार्यशैलीको आलोचना गरेका थिए । बैठकमा बोल्ने सदस्यले लामो समयदेखि गुट–उपगुट रहेको पार्टीमा मेलमिलापको वातावरण र विवाद मिलेकोमा स्वागत गरेका थिए । बैठकमा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १०३ जनाको सहभागिता छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा बारेमा छलफल भएको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । आजको बैठकमा सुरेन्द्र केसी, राजेन्द्र गुरुङ, नानीमैयाँ आचार्य भीमा यादवलगायत २८ केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । बैठक भोलि दिँउसो पुनः बस्नेछ ।