न्यूजिल्याण्डमा टुट्यो अर्को सपना, एक नेपाली विद्यार्थीको शव समुद्री किनारामा भेटियो
अष्ट्रेलियामा यसैसाता दुई नेपालीको पानीमा डुबेर मृत्यु भएको खबर सेलाउन नपाउँदै न्यूजिल्याण्डमा पनि एक नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । न्युजिल्याण्डमा आईटी पढ्दै गरेका २२ वर्षीय पवनकुमार खड्काको शव पानीमा तैरिएको अवस्थामा मोटुरिकी टापुको दक्षिणपूर्वी किनारामा भेटिएको हो । स्थानीय एक पैदल यात्रीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव नेपाली विद्यार्थी पवन खड्काको नै भएको पुष्टि गरेको छ भने केही समय पछि उनको गाडी पनि नजिकै पार्क गरिएको अवस्थामा फेला परेको छ । खड्का कसरी समुद्रमा डुब्न पुगे भन्ने विषयमा केही नखुले पनि प्रहरीले साथीभाईसँग सोधपुछका आधारमा अनुसन्धान अघि बढाएको छ । उनी पौडी खेल्दा डुबेका हुन् अथवा अरु केही कारण हो भन्ने विषयमा अनुसन्धान जारी छ । प्रहरीले उनलाई पानीमा जाँदै गरेको कसैले पनि नदेखेको जनाएको छ । आफ्नो कोठाबाट राति १ बजे नै कार लिएर निस्किएका उनको मृत्यु कसरी हुन गयो खुल्न नसक्दा न्यूजिल्याण्डमा रहेको नेपाली समूदायका सदस्यहरु अझ बढी अन्योलमा परेका छन् । स्थानीय पुके नेपाली संघका सभापति लाल केसीले घटनाबारे नेपालमा परिवारलाई अवगत गराएका थिए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै केसीले भने, परिवारलाई जानकारी गराउँदा उहाँहरु अचम्मित हुनुभयो । के कारणले यस्तो भयो भनेर सोध्नुभयो । तर, कारण बताउन सक्ने अवस्थामा म पनि छैन । बुधबार प्रहरीले पोष्टमार्टमपछि शव हस्तान्तरण गरेपछि परिवारको ईच्छा अनुसार यहीँ अन्त्येष्टी गर्ने कि शव नेपाल पठाउने भन्ने विषयमा निर्णय गरिने भएको छ । करिब डेढ वर्ष अघि पढाईका लागि न्यूजिल्याण्ड आएका खड्का केही समय पहिले नेपालमा परिवार भेट्न गएको बताइएको छ । पछिल्लो समयमा नेपालीहरु पानीमा डुबेर मृत्युवरण गर्ने क्रम बढेपछि यतिबेला नेपाली समूदाय चिन्तित बनेको छ । नेपालमा पौडी खेल्नु र समुद्रमा पौडी खेल्नु फरक कुरा भएकोले समुद्रमा पस्नुअघि निकै सावधानी अपनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।