भिक्टोरिया राज्यमा डढेलोको कहर, केही क्षेत्रका बासिन्दालाई घर छोड्न अपिल
मेलबर्न । भिक्टोरिया राज्यको केही जंगलमा फैलिएको डढेलो नजिकका मानव वस्तीतर्फ आउनसक्ने भन्दै भिक्टोरियन कन्ट्री फायर अथोरोटीले अधिकांश ठाउँमा आज आगो बाल्न पूर्णत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भिक्टोरिया प्रहरीले डढेलो प्रभावित सर्फ तटीय क्षेत्रमा बसोबास गर्ने समूदायलाई यस्तो प्रतिबन्ध लगाएको हो । नयाँवर्षको अघिल्लो दिन तापक्रम ३९ डिग्री पुग्ने अनुमान गरिएको छ भने नयाँवर्षको पहिलो साताभरि नै गर्मी हुनेछ । पूर्णतः आगो निषेधित क्षेत्र घोषित पाँच जिल्लाहरुमा साउथवेष्ट, सेन्ट्रल, वेष्ट एण्ड साउथ गिप्सल्याण्ड, नर्थ सेन्ट्रल र विमेरा रहेका छन् । गत क्रिशमसको दिन ग्रेट ओसियन रोड क्षेत्रमा लागेको आगो अहिलेसम्म पनि पूर्णत नियन्त्रणमा आएको छैन । डढेलो लागेका क्षेत्रबाट मानिसहरुलाई हटाउने सिफारिश गरिएको छ । वी रिभर र सेपरेशन त्रिकमा शुक्रबार लागेको डढेलो ५ सय हेक्टरबाट बढेर २८ सय हेक्टरमा फैलिसकेको छ । आपतकालीन सेवाका एक अधिकारी जोय बुफोनीले बिहीबार आगोका विषयमा विशेष ध्यान दिन भिक्टोरियामा रहेका सबैलाई आग्रह गरेका छन् । उनले भिक्टोरियावसीहरुलाई भने, तपाईंहरु सावधान रहनुहोस् । तर, आगोको विषय आउँदा भने अझ बढी चनाखो बन्नुहोला । घटना नियन्त्रक अलिष्टेर ड्रायटन भन्छन्, हामीले बढी खतरा रहेका ठाउँका स्थानीयलाई विहान १० बजे नै यो ठाउँ छोडिसक्न भनेका छौं ।