प्रधानमन्त्रीसँग पाकिस्तान र बंगलादेशी प्रधानमन्त्रीको भेट


प्रधानमन्त्री सुशील कोइराला र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना बाजेदबीच बिहीबार यहाँ भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिने क्रममा न्युयोर्क आउनुभएका दुवै प्रधानमन्त्रीको भेट यहाँस्थित ग्रायन्ड हायत होटलमा भएको थियो । भेटका अवसरमा उहाँहरूबीच दुवै मुलुकको समसामयिक राजनीतिक स्थिति, दुई देशबीचको सम्बन्ध र आपसी चासोको विषयमा विचारविमर्श भएको थियो । सो अवसरमा प्रधामन्त्री कोइरालाले नेपालको शान्तिप्रक्रिया र संविधान लेखनमा भइरहेको प्रगति तथा काठमाडौँमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनको तयारीका बारेमा बङ्गलादेशकी प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । बङ्गलादेशकी प्रधानमन्त्री बाजेदले सार्कको भूमिकालाई थप प्रभावकारी तुल्याउन यस क्षेत्रका सबै मुलुक मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई तथा परराष्ट्र मन्त्रालयका कायममुकाय सचिव शङ्करदास वैरागी र शिष्टाचार महापाल कालीप्रसाद पोखरेल सहभागी हुनुहुन्थ्यो ।
यसैबीच प्रधानमन्त्री सुशील कोइराला र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच बिहीबार यहाँ भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ६९आँै महासभामा भाग लिने क्रममा न्युयोर्क आउनुभएका दुवै प्रधानमन्त्रीको भेट यहाँस्थित वाल्डरोफ स्टोरिया होटलमा भएको थियो । भेटका अवसरमा उहाँहरूबीच दुवै मुलुकको समसामयिक राजनीतिक स्थिति, दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा विचारविमर्श भएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको शान्तिप्रक्रिया र संविधान लेखनमा भइरहेको प्रगति तथा काठमाडौँमा हुने सार्क शिखर सम्मेलनको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । पाकिस्तानी प्रधानमन्त्री सरिफले काठमाडौँमा हुने १८औँ सार्क शिखर सम्मेलनमा भाग लिन आफू आतुर रहेको तथा सार्कको भूमिकालाई थप प्रभावकारी तुल्याउन मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको भेटवार्तामा सहभागी हुनुभएका कायममुकायम सचिव वैरागीले जानकारी दिनुभयो । सो अवसरमा परराष्ट्रमन्त्री पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि भट्टराई तथा कायममुकाय सचिव वैरागी र शिष्टाचार महापाल पोखरेल सहभागी हुनुहुन्थ्यो । यसैबीच, प्रधानमन्त्री कोइरालासँग संयुक्त राज्य अमेरिका राज्य व्यवस्था विभागका राजनीतिक फाँट हेर्ने उपमन्त्री श्रीमती वोन्डी सेरम्यानले शिष्टाचार भेट गर्नुभएको थियो । प्रधानमन्त्री कोइराला बस्नुभएको ग्रायान्डी हायात होटलमा भएको उक्त भेटमा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा संविधानसभाको स्वतन्त्र, निष्पक्ष निर्वाचन सकेर शान्तिप्रक्रिया र संविधान लेखनलाई सहमतिका आधारमा अघि बढाउन भइरहेको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो । अमेरिकी उपमन्त्री वोन्डीले नेपालले शान्तिप्रक्रिया र संविधान निर्माणको काम यथाशीघ्र छिटो सकेर राजनीतिक स्थायित्व कायम गरी विद्युत्को विकाससँगै मुलुकलाई समृद्धितर्फ लैजाने मार्गमा अमेरिकी सरकारले सक्दो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सहल्लाहकार भट्टराई, कायममुकायम सचिव वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि भट्टराईलगायतको सहभागिता थियो ।
परराष्ट्रमन्त्री पनि भेटघाटमा
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र काजकिस्तानका विदेशमन्त्री इर्लान एल्ड्रिसोभबीच बिहीबार यहाँ भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको सभाभवनको विशेष कक्षमा उहाँहरूबीच भएको भेटमा दुई देशबीच कूटनीतिक सम्बन्ध विस्तार गर्ने तथा आपसी छलफलका आधारमा अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा प्रस्तुत गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।
अर्कोतर्फ, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका विदेशमन्त्रीहरूको अनौपचारिक बैठक न्यूयोर्कमा बसेको छ । बैठकमा माल्दिभ्समा भएको सार्क मन्त्रिस्तरीय बैठकपछि भएका प्रमुख गतिविधिका बारेमा छलफल भएको थियो । सार्क क्षेत्रका विदेशमन्त्रीहरू संयुक्त राष्ट्रसङ्घको ६९आँै महासभामा भाग लिने क्रममा हाल न्युयोर्कमा हुनुहुन्छ । महासभामा भाग लिन आउने क्रममा सार्क मुलुकका विदेशमन्त्रीहरूको अनौपचारिक बैठक गरिने प्रचलन स्थापित हँुदै आएको छ । पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आगामी सार्क शिखर सम्मेलनका लागि नेपाल सरकारले गरेको तयारीका बारेमा बैठकलाई विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । काठमाडौँमा हुन लागेको सार्क शिखर सम्मेलनको तयारी र काठमाडौँ घोषणापत्रमा रहने प्रमुख विषयलाई बढी केन्द्रित गरेर छलफल भएको परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?