अष्ट्रेलियाको हार्वर ब्रिजबाट गरिने नयाँ वर्षको स्वागत १६ लाखले प्रत्यक्ष हेर्ने
अष्ट्रेलियाको सिड्नीमा रहेको हर्वर ब्रिजमा गरिने नयाँ वर्षको स्वागत आतिशबाजीलाई १६ लाख दर्शकले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । आज मौसम सफा रहने पूर्वानुमान भएपछि अझै यो संख्या बढ्नसक्ने बताइएको छ । हार्वर ब्रिजमा मात्रै २३ हजार पटाकाहरु पड्काइनेछ । राति ९ बजे र १२ बजे गरी दुई पटक आतिशबाजी गरिनेछ । यससँगै अष्ट्रेलियाका विभिन्न प्रमुख शहरहरुमा पनि आतिशबाजी गरिनेछ । विश्वमै अष्ट्रेलियाको आतिशबाजी नयाँ वर्षको स्वागतमा गरिने पहिलो आतिशबाजी हुनेछ । ५ मिलियन डलरभन्दा बढीको खर्चमा हुने १२ मिनेटको यो आतिशबाजीको विभिन्न सञ्चारसंस्थाहरुले प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेका छन् । यस वर्षको आतिशबाजीको मुख्य थिम रोयल बोटानिक गार्डेनको २ सर्यौ वार्षिकोत्सव र टोरंगा चिडियाखानाको सयौं वार्षिकोत्सव रहने बताइएको छ । सुरक्षाको भरपर्दो तयारी गरिएको अधिकारीहरुले जनाएका छन् । साँझ ६ बजेबाट सुरु हुने औपचारिक कार्यक्रमको सुरुवातमै फ्लाईट शो हुनेछ भने त्यसपछि वाटर शो गरिनेछ । ८ः३० मा ९ बजेको पहिलो आतिशबाजीको लागि काउन्टडाउन सुरु गरिनेछ । त्यस्तै ८ः४० मा आदिवासी बाजाका साथ औपचारिक कार्यक्रम सुरु हुनेछ । ९ बजे पहिलो आतिशजी गरिने कार्यक्रम छ । यसपछि राति १२ बजे अर्को भव्य आतिशबाजी हुनेछ ।
नेपाली पनि क्रुजमा
नयाँ वर्षको आतिशबाजी हेर्नका निम्ति सिड्नीमा नेपाली समूदायका निम्ति आयोजना गरिएको स्टार ट्राभल एण्ड टुर्स सिड्नी हार्वर न्यू एयर क्रुज आयोजना गर्दैछ । पानीजहाजमा बसेर समुद्रका बीचबाट पूरै हार्वर ब्रिजमा हुने आतिशबाजी हेर्न सकिने व्यवस्था मिलाइएको आयोजक विकास केसीले जानकारी दिए । केसीका अनुसार टिकट सबै बिक्री भइसकेको छ भने राति ८ बजेदेखि १ बजेसम्म क्रुजमा बसेर आतिशबाजी हेर्न सकिनेछ ।