पार्टीभित्रका तानाशाहलाई ठेगान लगाउने ओलीको दाबी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलसँग सहमति गरेरै आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने बताउनुभएको छ । युवा सङ्घ नेपाल बालकोटले भक्तपुरमा आयोजना गरेको विजयादशमीको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा बोल्दै उहाँले सबैको सहमतिमै संविधान जारी गर्ने बताउनुभयो । देशमा लोकतन्त्र स्थापनापछिको परिवर्तनको एजेन्डालाई मिलाएर लैजाने जिम्मेवारी एमालेको काँधमा आएको जिकिर गर्दै उहाँले एमालेले परिवर्तनको एजेन्डाअनुरुप सबैलाई मिलाएरै सहमतिमा ल्याउने विश्वास व्यक्त गर्नुभयो । एमाले पार्टीभित्रको विवाद एवम् एमालेका अर्का नेता माधव नेपालले पछिल्लो समियमा दिएको अभिव्यक्तिप्रति लक्ष्यित गर्दै उहाँले पार्टीभित्रको कुनै तानाशाहलाई बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो जन्म नै तानाशाहविरुद्ध लड्न भएको हो, देशको तानाशाह होस् वा पार्टीको तानाशाह, यस विरुद्ध म लड्छु ।” एमाले स्वेच्छाचारी पार्टी नभएको बताउँदै उहाँले भन्नुभयो – “पार्टीभित्र भागबण्डा गर्दै हिँड्ने एमाले संयुक्त मोर्चा होइन, न त स्वेच्छाचारी पार्टी नै हो, एमाले राष्ट्रको परिवर्तन गर्ने, राष्ट्र हाँक्ने पार्टी हो, यो भागबण्डा गरेर अगाडि बढ्दैन ।” भक्तपुरले पहिलोपटक एमालेबाट केन्द्रीय सदस्य, सभासद् र मन्त्री पाएको प्रसङ्ग कोट्याउँदै उहाँले भक्तपुरको विकास गर्ने जिम्मेवारी अब एमालेको काँधमा आएकाले यस अभियानमा आफूले पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले देशभर एक परिवार एक उत्पादनको नीति लागू गर्ने बताउँदै स्थानीयस्तरको उत्पादनलाई प्राथमिकता दिएर मन्त्रालय अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा मन्त्री बस्नेत, एमालेका सभासद् केदार सञ्जेल र वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्रलाई सम्मान गरिएको थियो ।