ज्यान मार्ने धम्कीपछि सलमानको सुरक्षा बढाइयो, बान्द्रा प्रहरीमा उजुरी
जेठ २३, एजेन्सी । बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै ज्यानको धम्की आएको छ।। यो मामलालाई गम्भीर रुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ।
समाचारअनुसार सलीमलाई यो धम्कीपूर्ण पत्र प्राप्त भएको थियो । यसपछि सलीमले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका थिए। मुम्बई प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्धा दर्ता गराएर अनुसन्धान सुरु गरेको हो। तर पत्रमा ज्यानको बाहेक अन्य के-के विषयमा धम्की दिइएको छ भन्ने कुरा केही खुल्न सकेको छैन।
यसअघि नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङस्टार लरेन्स बिश्नोईले सलमानलाई ज्यानको धम्की दिएका थिए। लरेन्स त्यही व्यक्ति हुन्, जसमाथि पञ्जाबी गायक तथा र्यापर सिद्धु मुसेवालाको हत्या गरेको आरोप छ।
सिद्धुको हत्यापछि प्रशासनले सलमानको सुरक्षाको संख्या बढाएको छ। सलमानमाथि राजस्थानका जोधपुरमा कालो हरिण शिकारको आरोप छ। कालो हरिणलाई बिश्नोई समाज निकै पवित्र मान्छन्। त्यहीकारण लरेन्सले सलमानलाई धम्की दिएको बताइएको छ।
यसअघि अगष्ट २०२० मा हरियाणा प्रहरीले एक राहुल साँगा नामका व्यक्तिलाई पक्राउ गरेको थियो। यो व्यक्ति लरेन्स बिश्नोई ग्याङका सुटर थिए। प्रहरीको अनुसन्धान पछि ती व्यक्तिले आफू लरेन्सको भनाई अनुसार सन् २०२० मा सलमानको घरको रेकी गर्न आएको खुलासा गरेका थिए।