आपूर्ति सहज बनाउन सरकारले अझै कडा कदम चाल्नुपर्ने खनालको आग्रह
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको कठिन अवस्थामा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले आफ्ना संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) गण्डकी अञ्चल समन्वय समितिको आयोजनामा ‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान’अन्तर्गत अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको आपूर्ति व्यवस्था सुस्त भएकाले कालोबजारी मौलाएको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री खनालले सीमाङ्कनका विषयमा मधेसी मोर्चासँग वार्ता गर्दा निकै होसियारी अपनाउनुपर्ने बताउँदै हिमाल, पहाड र तराईलाई टुक्राएर प्रदेश बनाउन नसकिने धारणा राख्नुभयो । एमाले महासचिव ईश्वर पोखरेलले प्रमुख राजनीतिक दलबीचको भद्र सहमति काँग्रेसले तोडेकाले नै सानातिना पार्टी बटुलेर सत्ता समीकरण गर्नुुपरेको बताउँदै पार्टी राष्ट्रिय स्वाधीनताको रक्षा, स्वतन्त्रता र संविधान कार्यान्वयनको पक्षमा हातेमालो गर्ने शक्तिसँग सहकार्य गर्दै अघि बढ्ने छ भन्नुभयो । एमाले नेता खगराज अधिकारीले सिधासाधा मधेसी जनतालाई उचालेर आन्दोलनमा उतार्नु गलत भएको टिप्पणी गर्नुभयो । दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा गण्डकी अञ्चलका पार्टी कार्यकर्ताको सहभागिता छ ।