अर्को नेपाली युवकको समुद्रमा डुबेर मृत्यु, दुई दिनसम्म जीवन सुवेदीलाई बचाउने प्रयास असफल
समद्री किनारामा घुम्न गएका एक नेपालीसहित दुईजनाको मृत्यु भएको छ । क्टिोरियाको गिप्सल्याण्ड तटमा गत आइतबार भएको एक दुर्घटनामा गम्भीर घाइते भएका नेपाली युवकको आज मृत्यु भएको हो । आइतबार नै एक फिलिपिन्सकी महिलाको निधन भएको थियो । मृतक नेपाली युवक जीवन सुवेदी हुन् । २७ वर्षीय सुवेदी मेलबर्न निवासी हुन् । उनी आफ्नो कामका साथीहरुसँग समुद्री तटमा गएका थिए । प्रत्यक्षदर्शीहरुले सेल्फी लिँदै गरेका बेला समुद्री छालले उनीहरुलाई हुत्याएर आफुतर्फ नै लगेको देखेको बताएका छन् । यसक्रममा चारजना समुद्रमा डुबेका थिए । यसमध्ये दुईजनाको ज्यान गएको हो र दुईजना अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन् । पछिल्लो समय नेपाली समूदायमा समुद्रमा डुबेर ज्यान गुमाउनेक्रम बढेकोमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटना लगत्तै तटरक्षकहरुले निजहरुको उद्धार गरेर अस्पताल पुर्याएको भएपनि प्रयास सफल हुन सकेन । उनीहरुलाई समुद्री छालले करिब ६० मिटर टाढा पुर्याएको थियो । लाईफ सेभिंग भिक्टोरियाले एक चेतावनी जारी गर्दै तटरक्षकहरु नभएको ठाउँमा समुद्रबाट टाढै रहन आग्रह गरेको छ ।