गम्भीर बहसले मात्रै मधेशी समस्याको समाधान गर्ने कर्णको निष्कर्श


laxmanमधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले धेरै दिन बिराएर छोटोछोटो गरी भइरहेको बैठकले निकास दिन नसक्ने भएकाले सघन छलफलको आवश्यकता रहेकोमा जोड दिनुभएको छ । नेपाल जेसिजले नयाँ संविधान कार्यान्वयनका समस्या र समाधान विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मधेसी नेता कर्णले वार्ता सकारात्मक भए पनि सघन नभएको बताउनुभयो । “हामीले उठाएका हरेक विषयमा मज्जाले छलफल गर्न पाएमा निकास निस्कने थियो, तर तीन दलका नेता कहिले के भनेर कहिले के भनेर छलफल टुङ्ग्याउनु हुन्छ, गम्भीर छलफल हुनै पाएको छैन,” उहाँले भन्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले वार्ता सकारात्मकतर्फ गएको भए अब जनतालाई कष्ट दिने आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्नुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैह्रेले संविधानमा मधेसी मोर्चाले उठाएका ११ बुँदाबाहेक अरु सबै राम्रा विषयवस्तु समावेश गरिएको बारेमा जनतालाई प्रष्ट पानुपर्र्ने बताउनुभयो । भारतका लागि नेपालका पूर्व राजदूत तथा नेपाल जेसिजका संस्थापक अध्यक्ष डा भेषबहादुर थापाले तत्कालको समस्याका आधारमा दुई देशको सम्बन्धमा दीर्घकालीन असर पर्ने गतिविधि नगर्न सुझाव दिनुभयो । कार्यक्रममा जेसिजका राष्ट्रिय अध्यक्ष जगत पोख्रेलले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउन तथा समस्या समाधानका लागि दबाब दिन तराईका विभिन्न जिल्लामा अभियान चलाउन लागिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?