सिड्नीमा हुरीका कारण एकजनाको मृत्यु, कैयौं घरमा क्षति
सिड्नीमा अचानक बिग्रिएको मौसमका कारण एकजनाको मृत्यु भएको छ । गर्मी मौसम चलिरहेको बेला पानी पर्ने र हुरी चल्ने क्रम सुरु हुँदा रुख ढलेर लागी एकनाको मृत्यु भएको आपतकालीन सेवाले जनाएको छ । सिड्नीको ग्रेट वेष्टर्न हाईवेमा गाडी चलाइरहेका उक्त व्यक्तिलाई रुख ढलेर किचेको थियो । यस्तै घटनामा घाइते भएकी अर्की एकजना ६० वर्षीय महिलालाई अस्पताल भर्ना गरिएको छ । रुख लडेर ति व्यक्तिहरुलाई किचेपछि त्यहाँबाट निकालन ४० मिनेट लागेको न्यू साउथवेल्स एम्बुलेन्स सेवाका ईन्सपेक्टर मुरे ट्रेनोरले जानकारी दिएका छन् । रातभरिमा अझै बढी हुरी चल्ने चेतावनी मौसमविद्हरुले दिएका छन् । पेनरिथ, मुरेव्यांक, माउन्ट ड्राइट र स्कोफिल्ड लगायतका क्षेत्र बढी प्रभावित भएका छन् । करिब ८० हजार घरमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । यतिबेला उद्धारकर्ताहरुले व्यांक्सटाउ, सेल्भेनिया, मोर्टाडेले लगायतका क्षेत्रका ३४ हजार घरमा विद्युत आपूर्ति गराएका छन् । मौसममा आएको खराबी र यसले गरेको क्षतिपछि कैयौं सडकहरु बन्द भएका थिए । ग्रेट वेष्टर्न हाईवे केही घण्टाका लागि बन्द भएको थियो । प्रिन्सेस हाइवे पनि त्यहाँको एक घर आंशिक रुपमा क्षतिग्रस्त भएपछि केही घण्टाका लागि बन्द गर्नुपरेको थियो ।