जकार्तामा मारिने सात पुगे, आईएसले गराएको दाबी
इन्डोनेसियाको राजधानी जकार्तामा बिहीबार भएका शृङ््खलाबद्ध विस्फोट र बम हमलामा परी मारिनेको सङ्ख्या सात पुगेको बताइएको छ । जकार्ताको मध्य सहरमा अवस्थित दूतावासहरु र संयुक्त राष्ट्रसङ्घीय कार्यालयको नजिक पारेर ती विस्फोट र बन्दुक हमला भएको थियो । ती आक्रमणमा सात जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । हमलाको पूर्ण विवरण आइसकेको र मारिनेको सङ्ख्या सात जना पुगेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार सो आक्रमणमा संलग्नमध्येकै दुई जनाको ज्यान गएको छ । उनीहरु आत्मघाती हमलाकारी भएको अनुमान प्रहरीले गरेको छ । तर पनि सरकारी सुरक्षा अधिकारीहरुले भने यसमा आईएसको संलग्नताको आशङ्का गरिरहेको जनाइएको छ । इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले इन्डोनेसियामा बिहीबार भएको विस्फोटको घटना आतङ्कवादी क्रियाकलाप हो भन्नुभएको छ । राष्ट्रपति जोकोले यस्ता क्रियाकलापबाट इन्डोनेसिया र इन्डोनेसियाली नागरिक नडराउने पनि स्पष्ट गर्नुभएको राजधानी जकार्ताबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।
यस विस्फोटलाई आतङ्कवादी कार्य भन्दै उहाँले यस्ता आतङ्ककारी क्रियाकलापबाट इन्डोनेसिया कहिल्यै पनि पराजित नहुने बताउनुभयो । यस आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन ।
आईएसकै हात छ– प्रहरी
यसैबीच इन्डोनेसियाली प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार सो हमलामा मुस्लिम जिहादी समूह आईएसको हात रहेको पाइएको छ । प्रहरीले भनेको छ– सो हमलाको पछिल्लो समयमा गरिएको एक अध्ययनबाट आईएसले एक रहस्यमय इमेल पठाएको भेटिएको छ र त्यसको आसय हेर्दा यो हमला पनि उसैले गरेको देखिन्छ । प्रहरीले पाएको सूचनामा आईएसले सो इमेलमा बिहीबारको दिन जकार्तामा एक यस्तो कार्यक्रम हुनेछ जुन संसारले नै थाहा पाउने छ भनेर लेखिएको प्रहरीले जनाएको छ । सो मेलमा उनीहरुले उक्त आक्रमणको बारेमा केही नलेखेको तथा यसको जिम्मेवारीको बारेमा पनि केही उल्लेख नगरेको पनि बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सो हमलामा आईएसको हात रहेको देखिएको प्रहरीले जनाएको छ ।