संविधान कार्यान्वयनको जटिलतामा साथ दिन सरकारमा सहभागी बन्न काँग्रेसलाई प्रचण्डको आग्रह
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वयन र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारमा सहभागी हुन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । एमाओवादीले आयोजना गरेको प्रदेश नं ३ का अगुवा कार्यकर्ताको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो । “मुलुकमा सङ्कट परेका बेला सत्तापक्ष र प्रतिपक्ष हुँदैन भन्ने विषयमा आत्मसात् गरेर काँग्रेस पनि वर्तमान सरकारमा सहभागी हुनुपर्छ, काँग्रेस सरकारमा आउने अवस्था आए आफ्नो पार्टीले लिएका मन्त्रालय छाड्न तयार छ”– नेता दाहालले भन्नुभयो– “आग्रह पूर्वाग्रह राखेर मुलुक चल्न सक्दैन, सङ्कटको समाधान गर्न सबै ठूला दल नमिली सुखै छैन ।” उहाँले भूकम्प र अघोषित नाकाबन्दीबाट मुलुकलाई परेको सङ्कटबाट पार लगाउन पनि सबै पक्षको मतैक्य हुनुपर्ने बताउनुभयो । “हामी जस्तोसुकै दुःख पनि सहन तयार छौँ तर राष्ट्रको शिर झुक्न दिन्नौँ”– उहाँले भन्नुभयो– “राजनीतिक नेतृत्वको सानो गल्तीले पनि मुलुक समस्यामा पर्ने, पार्टी बिग्रने हुँदोरहेछ, त्यो गल्ती सच्चाउँदा मुलुक अगाडि बढ्ने र पार्टी बन्ने रहेछ ।” अध्यक्ष दाहालले पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको आधार तयार पारेको र सोही आधारमा विचारको विकास गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।
उहाँले पार्टीको सङ्गठन निर्माणमा ध्यान केन्द्रित गर्न र जनताका दैनिक जनजीवनसँग जोडिन र सहभागी बन्न कार्यकर्तामा निर्देशन गर्नुभयो । अध्यक्ष दाहालले अगाडि भन्नुभयो– अब सबै माओवादी क्रान्तिकारीलाई एक जुट बनाउनु पर्छ । विचार र राजनीतिमा एक मत भएर नै पार्टी एकता हुन्छ ।” कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगर, सल्लाहकार समितिका संयोजक नन्दकुमार प्रसाईं, पोलिटब्युरो सदस्य लीलामणि पोखरेल, शशि श्रेष्ठ, झक्कु सुवेदीलगायतले प्रशिक्षण दिनुभएको थियो ।