सिड्नी, मेलबर्न र ब्रिसबेनको नेपाल महोत्सव नोभेम्बर डिसेम्बरमा, नेपथ्यले स्टेज तताउने


nepathyaअष्ट्रेलियामा हरेक २ वर्षमा आयोजना गरिने नेपाल फेष्टिभलको तयारी सुरु भएको छ । यसैक्रममा सिड्नीका लागि आगामी नोभेम्बर २६ तारिखको मिति तय गरिएको छ भने अष्ट्रेलियाका अन्य राज्यहरुमा समेत यही सेरोफेरोमा नेपाल महोत्सव गर्ने तयारी भएको छ । एनआरएन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौलाका अनुसार यस पटक नेपाल महोत्सवलाई अहिलेसम्मकै सबैभन्दा सहभागितामूलक बनाउनका निम्ति विभिन्न योजनाहरु निर्माण गर्ने कार्य भइरहेको छ । यसैक्रममा नेपथ्यलाई अनुबन्ध गर्ने काम सम्पन्न भएको र करिब एक महिना नेपथ्यले सिड्नी, मेलबर्न र ब्रिसबेनको नेपाल महोत्सवमा आफ्नो प्रस्तुति दिने भएका छन् । यस सम्बन्धमा एमएनटीभीसँग कुरा गर्दै एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले नेपालको पर्यटन प्रबद्र्धन, संस्कृतिको जगेर्ना र नेपालीबीचको एकतालाई मुख्य केन्द्रमा राखेर नेपाल महोत्सव गरिने बताउनुभयो । एनआरएन अध्यक्ष एवं नेपाल महोत्सव तयारी समिति अष्ट्रेलियाका संयोजक सुरेन्द्र सिग्देलले नेपथ्यलाई ल्याउने तय भएको र सिड्नी, मेलबर्न र ब्रिसबेनमा २०१६ को नोभेम्बर डिसेम्बरमा नेपाल महोत्सव गर्ने तय भएपनि कुन ठाउँमा गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिनुभयो । “हामी अष्ट्रेलियाको सबै मुख्य शहरमा नेपाल महोत्सव गरेर नेपालको पर्यटन प्रबद्र्धन गर्न चाहन्छौं”, सिग्देलको भनाई छ । यसैगरी एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले डिसेम्बर महिनामा नेपाल महोत्सव गर्ने तय भएको जानकारी दिनुभएको छ । फेडरेशन स्क्वायरमा नै गर्ने हो, सम्भवतः डिसैम्बरको पहिलो या दोश्रो साता कार्यक्रमको मिति तय हुनेछ, कँडेलको भनाई छ । नेपाल महोत्सवको सुरुवात ब्रिसबेनबाट हुने तय भएको छ । एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतका अनुसार नेपाल महोत्सवको लागि स्थानको खोजी गर्ने कार्य अघि बढेको छ । केही दिनमा नै मिति र स्थान तय भएपछि यसका अन्य तयारी पनि अघि बढ्ने बस्नेतको भनाई छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?