मधेशीलाई मनाउन संशोधन विधेयकमाथिको छलफल दुई दिनपछि


व्यवस्थापिका–संसद्मा प्रारम्भ गर्ने भनिएको नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथिको दफावार छलफल दुई दिनपछि सरेको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद्मा प्रमुख तीन राजनीतिक दलका शीर्षनेता तथा संसदीय दलका नेताबीच भएको छलफलमा यही माघ ७ गतेदेखि सो विधेयक माथिको छलफल अघि बढाउने निर्णय भएको छ । छलफलपछि पत्रकारलाई जानकारी दिँदै कार्यदलका सदस्य तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावलले सदनमा प्रस्तुत संविधान संशोधन प्रस्ताव तथा आन्दोलनरत मधेसवादी दलका प्रस्तावलाई अघि बढाउन सकिने सम्भावित विषयमा छलफल भएको बताउनुभयो । उहाँले उक्त विधेयकका विषयमा परेका संशोधन प्रस्तावका बारेमा यही माघ ७ गतेदेखि छलफल प्रारम्भ गर्ने र यसका लागि माघ ९ गते आआफ्ना दलका सबै सदस्यलाई जानकारी गराएर त्यस विषयमा निर्णय गर्ने सहमति भएको बताउनुभयो । आन्दोलनरत दलसँग हालसम्म भएका प्रगतिका विषयमा शीर्ष तहमा रहेका नेतालाई जानकारी गराउने र समस्या समाधानका लागि कार्यदल होस् वा शीर्षनेता जुनसुकै तहमा पनि छलफललाई निरन्तरता दिने र माघ ९ गतेसम्म कुनै सहमति नभए संसद्मा प्रस्तुत संविधानको संशोधन विधेयकलाई अघि बढाउनुपर्नेमा सहमति भएको रक्षामन्त्री रावलले जोड दिनुभयो । सीमाङ्कनका विषयमा उहाँले यो अत्यन्त जटिल विषय भएकाले यस विषयमा तत्काल निर्णय गर्न नसकिने तर गठन हुने उच्चस्तरीय राजनीतिक संयन्त्रले पेस गरेको प्रतिवेदनबमोजिम हुने उल्लेख गर्नुभयो । निर्धारित समयभन्दा करिब तीन घन्टा ढिलो सुरु भएको सदनको बैठकमा सभामुख ओनसरी घर्तीमगरले सो विधेयकमाथिको दफावार छलफल कार्यसूचीबाट हटाइएको जानकारी दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?