चौधौँ आहा रारा गोल्डकप फुटबल सुरु


football‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटनका रुपमा स्थापित गरौँ’ भन्ने नाराका साथ साहारा क्लब, पोखराले आयोजना गरेको १४औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पोखरा रङ्गशालामा उद्घाटन गर्दै खेलकुदको विकासका साथै सामाजिक विकासका क्षेत्रमा साहारा क्लबले देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउनुभयो । आगामी १३औँ साफ प्रतियोगिता पोखरामा गर्न परिषद्ले पहल गर्ने उहाँको भनाइ थियो ।
सांसद् यज्ञबहादुर थापाले खेलको विकासको साथै असहाय बालबालिकाको संरक्षणमा क्लबले गरेको काम प्रशंसायोग्य भएको बताउनुभयो । क्लबका अध्यक्ष वीरभद्र आचार्यले खेलकुदका माध्यमबाट एकाडेमी सञ्चालन गरी १६ जिल्लाका २६ जना असहाय बालकलाई क्लबले संरक्षण गर्दै आएको जानकारी दिनुभयो । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले क्लबले फुटबल खेलको विकासका लागि देखाएको सक्रियतालाई प्रालिका तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उद्घाटन खेलमा आयोजक साहारा क्लब र नव जनजागृति क्लब, सिमराबीच प्रतिस्पर्धा भएकामा साहारा क्लबले नव जागृति क्लबलाई ३–० गोलको अन्तरले पराजित गरेको छ । उक्त अवसरमा पूर्व फुटबल खेलाडी क्याप्टेन गणेश गुरुङसहित क्लबलाई विभिन्न तबरबाट सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।
उद्घाटन समारोहमा क्लबका वरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा र महासचिव केशव बरालले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?