भिलेन बन्न चाहन्थे रणवीर
असार १९, मुम्बई । बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा नयाँ फिल्म ‘शमशेरा’लाई लिएर चर्चामा छन्। यो परियिड ड्रामा फिल्मको प्रमोसनमा रणवीरले कुनै कसर बाँकी राखेका छैनन्। रणवीर बाल्यकालदेखि नै ‘हिरो’सँगै ‘भिलेन’को चरित्रमा पनि अभिनय गर्न चाहन्थे। ‘म यस्तो छवि बनाउन चाहन्छु कि आमाले बच्चालाई भनुन् कि तिमी सुत। नत्र रणवीर आउनेछन्’, उनी भन्छन्।
उनले फिल्म ‘शमशेरा’को भिडियो सार्वजनिक गर्दै यो कुरा बताएका हुन्। भिडियोमा उनले क्लासिक भिलेनलाई सम्झिएका छन्। ‘राम्रो र नराम्रोको लडाईंमा जहिल्यै जित राम्रोकै हुन्छ। तर, जो हारेर पनि मान्छेको मन जित्छ, उसलाई बाजिगर नभई भिलेन भनिन्छ। हिरो र भिलेनमा हामी हिरोको पक्ष लिन्छौं। तर, हिरोलाई आफ्नो हिरोगिरी देखाउन भिलेन छैन भने त्यस्तो हिरो कस्तो होला? हामी हिन्दी फिल्मका क्लासिक हिरोको जति सम्झना गर्छौँ केही फिल्ममा त भिलेनले हिरोलाई पछाडि छोडेका छन्’, रणवीर भन्छन्।
उनले ‘शोले’को गब्बर सिंह, ‘मिस्टर इण्डिया’को मोगेम्बो, ‘अग्निपथ’को काँचाचीनालाई सम्झिएका छन्। बाल्यकालदेखि नै यी भिलेन आफूलाई प्रिय लाग्ने गरेको उनले उल्लेख गरेका छन्।