प्रधानमन्त्रीलाई सहमतिको बाधक भन्न नहुने प्रचण्डको निष्कर्श


prachandaसत्तारुढ एकीकृत नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली सहमतिका लागि बाधक नबनेको बताउनुभएको छ । मोर्चाले प्रधानमन्त्री ओलीको अडानका कारण शिर्ष नेताको वार्तामा कुनै प्रगति नभएको बताएको भोलिपल्ट शुक्रबार एमाओवादी अध्यक्ष दाहालले पोखराका संचारकर्मीसँगको साक्षात्कारमा एउटा वार्तामा सहमति नजुटेका आधारमा प्रधानमन्त्रीलाई सहमतिको वाधक भन्न नमिल्ने बताउनुभयो । उहाँले मधेश आन्दोलन सम्बोधनका लागि मन्त्रीपरिषद्ले तीन बुँदे निर्णय गरेको अवस्थामा प्रधानमन्त्रीलाई सहमतिको वाधक भन्नु गलत हुने बताउनुभयो । एमाओवादी अध्यक्ष दाहालले रंगेली घटनाका आधारमा मोर्चासँगको वार्ता नबिथोलिने बताउनुभयो । उहाँले मधेश आन्दोलनका क्रममा पाँच महिनासम्म शान्त रहेको रंगेलीमा विहिवार तीन जनाको ज्यान जाने गरी गोली प्रहारको घटना हुनु दुर्भाग्यपूर्ण भन्दै यो घटनाबाट पाठ सिकेर प्रमुख दल र मोर्चा छिटो समझदारी गर्नतिर केन्द्रीत हुनुपर्ने र त्यो नै सबैको हितमा हुने बताउनुभयो । एमाओवादी अध्यक्ष दाहालले संसद्मा छलफलको क्रममा रहेको संविधान संशोधन विधेयक पारित भएपछि भारतले रक्सौल नाका खोल्ने दाबी समेत गर्नुभयो । एमाओवादी अध्यक्ष दाहाल ४ नम्बर प्रदेशका आफ्ना अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन पोखरा पुग्नुभएको हो । अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनपूर्व एमाओवादी अध्यक्ष दाहालले बुद्धिजिवीहरुसँग अन्तक्र्रिया गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?