पूर्वी अमेरिकामा विशाल आँधी, कम्तीमा आठजनाको मृत्यु


usa weatherपूर्वी अमेरिकामा शुक्रबारदेखि सुरु भएको हिमआँधीका कारण कम्तीमा आठजनाको मृत्यु भएको यहाँबाट प्रेसित समाचारहरुमा जनाइएको छ । आँधीका कारण उक्त क्षेत्रमा बसोबास गर्ने कम्तीमा आठ करोड ५० लाख मानिस प्रभावित भएको ‘नेसनल वेदर सर्भिस’ (एनडब्लुएस) ले बताएको छ । शुक्रबारबाट सुरु भएको हिम आँधी आइतबार बिहानसम्म परिराख्न सक्ने एनडब्लुएसले पूर्वानुमान गरेको छ । अमेरिकाको पूर्वी क्षेत्रमा अवस्थित धेरै ठाउँहरुमा करिब दुई फिटसम्म हिउँ जम्मा हुने र यसका कारण करिब एक लाख मानिसले विद्युत् सेवा प्रयोग गर्नबाट वञ्चित भएका यहाँको सङ्कटकालीन सेवा प्रदायक संस्थाका अधिकारीले बताएका छन् । यद्यपि अमेरिकी टेलिभिजन सिएनएनले एक लाख ३३ हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएको जनाएको छ । यस शताब्दीकै ठूलो भनिएको उक्त हिमआँधीका कारण हजारौँ उडान सेवा अवरुद्ध भएका छन् भने उक्त क्षेत्रका सहरी इलाकामा सञ्चालित बस तथा रेल सेवा शुक्रबारदेखि सोमबार बिहानसम्मका लागि बन्द गरिएका छन् । अमेरिकामा न्युयोर्कपछिको दोस्रो व्यस्त भूमिगत रेल सञ्जालले वासिङ्टन, मेरिल्याण्ड र भर्जिनिया इलाकामा दैनिक सात लाख मानिसलाई सेवा पु¥याउँदै आएको छ । पूर्वानुमान गरिएअनुसार नै आइतबारसम्ममा हिउँ पर्न रोकिए पनि यो सन् १९२२ यताकै ठूलो हिम आँधी हुने मौसम विज्ञहरुको दाबी छ । सन् १९२२ मा आएको हिम आँधीका कारण करिब २८ इन्चसम्म हिउँ जमेको र यसका कारण १०० जनाको मृत्यु भएको थियो । हिम आँधीका कारण कैयौँ दुर्घटना भएका छन् र यीमध्ये दुई ठाउँमा भएका घटनामा ठूलो क्षति पुगेको, उत्तरी क्यारोलिनाका गभर्नर प्याट म्याककोरीले बताउनुभएको छ । हिमपातका कारण अर्कान्सास, टेनिसी, केन्टुकी, उत्तरी क्यारेलिना, पश्चिमी भर्जिनियालगायत १८ राज्यहरु प्रभावित भएका यहाँको मौसमसम्बन्धी समाचार सम्प्रेषण गर्ने टेलिभिजन प्रसारण च्यानलले बताएको छ ।

उक्त क्षेत्रमा सरकारले सङ्कटकालको घोषणा गरी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा जाने तथा लग्ने प्रबन्ध मिलाएको सिएनएनले बताएको छ । हिमपातका कारण एक अर्ब अमेरिकी डलरभन्दा बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?