दक्षिणी अलास्कामा ६.८ म्याग्निच्युडको भूकम्पको धक्का


alaskaउत्तर अमेरिकाको दक्षिणमा अवस्थित अलास्का र वरपरको क्षेत्रमा आइतबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भूगर्भ विज्ञान मापन केन्द्र (यूएसजीएस) ले जनाएको छ । यसअघि उक्त केन्द्रले भूकम्पको धक्का ७.१ म्याग्निच्युडको रहेको बताएको थियो । स्थानीय समयअनुसार आइतबार बिहान १ः३० बजे गएको उक्त भूकम्पको केन्द्रविन्दू एन्कोरेजबाट २६० किलोमिटर टाढा  दक्षिणपश्चिमी इलाकामा रहेको र १२७ किलोमिटर गहिराईबाट गएको यूएसजीएसले बताएको छ । स्थानीय सञ्चारमाध्यममा जनाइएअनुसार मस्तनिन्द्रामा रहेका अमेरिकी नागरिकहरु आफ्ना घरलाई भूकम्पले हल्लाएपछि ब्युझिएका थिए । भूकम्पका कारण केही बस्तीहरुमा विद्युत सेवा अवरुद्ध भए पनि कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन । भूकम्पका कारण भौतिक संरचनाको क्षति भएको कुनै खबर आइनसकेको एन्कोरेजको स्थानीय प्रशासनले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?