संविधान संशोधनबाट मधेसको माग सम्बोधन भइसक्यो–नेता शर्मा
एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य जनार्दन शर्माले व्यवस्थापिका–संसद्बाट पारित भएको संविधान संशोधनले मधेसीले उठाउँदै आएका माग सम्बोधन भएको बताउनुभएको छ । संविधान संशोधनसँगै नेपाल राज्यको चरित्रमा नयाँ रुप प्रदान गरेको उहाँले दाबी गर्नुभयो । क्रान्तिकारी पत्रकार सङ्घ सल्यानले खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले संविधानले सबै वर्ग, समुदाय, उत्पीडित क्षेत्र, लिङ्गको भावना समेटेकाले नयाँ संविधान अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो संसदबाट पारित भएको पहिलो संविधान संशोधनले नेपालको राज्य संरचनाको चरित्रमा नयाँ रुप पैदा गरेको छ, सबैको एजेण्डालाई सम्बोधन गरेको छ ।”
समावेशी समानुपातिकले नेपाली जनताको राज्यसत्ता माथिको स्वामित्व एवम् अधिकारलाई स्थापित गरेको दाबी गर्दै नेता शर्माले सीमाङ्कनको विषय गौण भएको बताउनुभयो । “मधेसीलगायत देशका विभिन्न जाति तथा समुदायले उठाउँदै आएको समावेशी समानुपातिकको माग पूरा भएको छ, मधेसी दलले संविधान संशोधनले आफ्ना माग सम्बोधन भएनन् भन्नुको कुनै अर्थ छैन, मुख्य कुरा समावेशी र समानुपातिक हो”– उहाँले भन्नुभयो । सरकारको काम गर्ने शैलीमा परिर्वतन आवश्यक रहेको औँल्याउँदै नेता शर्माले जनजीविकाका समस्यालाई समाधान गर्ने योजना र श्वेतपत्र आएपनि कार्यान्वयनको अभाव भएको बताउनुभयो ।