संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निष्पक्ष अनुसन्धान गर्न माग गर्दै आयोगमा ज्ञापनपत्र बुझाए
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा पछिल्लो समयमा भएका घटनाको अनुसन्धान गरेर सत्य÷तथ्य बाहिर ल्याउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाले सप्तरीको भारदह, राजविराज, धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र मोरङको रङ्गेली तथा डायनियामा भएका घटनाको अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा फौजदारी न्याय प्रणालीअन्तर्गत मानवअधिकार उल्लङ्घनकर्तालाई कारबाही गर्न तथा पीडित परिवारलाई यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराउन, आन्दोलनमा गोली चलाउने सुरक्षा निकायलगायत अन्य संलग्न जोसुकैलाई अनुसन्धानको दायरामा ल्याई दोषी देखिए कारबाहीका लागि सरकारलाई सिफारिस गर्न आग्रह गरिएको छ । शान्तिपूर्णरुपमा आन्दोलन गर्न पाउने नागरिकको अधिकार हुँदाहुँदै पनि आफूहरूको आन्दोलनलाई सरकारले दमन गर्दै आएकोतर्फ आयोगको ध्यानाकर्षण गरिएको ज्ञापनपत्रमा अहिलेसम्म ५४ जना आन्दोलनकारीको मृत्यु भइसकेकाले यथाशीघ्र वार्ता र संवादको माध्यमबाट समस्याको हल खोज्न सरकारलाई दबाब दिन आग्रह गरिएको छ । आयोगमा ज्ञापनपत्र बुझाउन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस सद्भावना पार्टी (तमसपा) का वरिष्ठ नेता रामनरेश राय, सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादवलगायत पुग्नुभएको थियो । ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष शर्माले पहिचान र अस्तित्वका लागि भएको आन्दोलनलाई सरकारले संवेदनशील भई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै विकासको तीव्रगतिलाई समात्नुपर्ने समयमा विनाशतर्फ धकेलिनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । आन्दोलनका क्रममा भएका घटनाको आयोगले निष्पक्ष रुपमा अनुगमन र अनुसन्धान गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो ।