सिरियाली भूभागमा विद्रोहीद्वारा विस्फोट, कम्तिमा बीसको मृत्यु
सिरियाको मध्यक्षेत्रमा अवस्थित होम्स सहर नजिकैको सरकारी सुरक्षाफौजले सञ्चालन गरेको सुरक्षा जाँच केन्द्रमा विस्फोट गराउँदा मङ्गलबार २० जनाको मृत्यु भएको छ । घटनामा एक सय जनाभन्दा बढी घाइते भएका छन् । आगामी शुक्रबार अर्थात् जनवरी २९ मा संयुक्त राष्ट्रसङ्घको पहलमा सिरियाली सरकार र विपक्षी दलबीच वार्ताको आह्वान गरिए पनि विपक्षी दलले यसमा भाग लिने वा नलिने अझै टुङ्गो लागेको छैन । प्रतिपक्षी दललाई मनाउन संयुक्त राष्ट्रसङ्घका सिरियास्थित विशेष प्रतिनिधिले दुवै पक्षलाई वार्तामा सहभागी हुनका लागि निम्ता दिन तयारी गरिरहेको बुझिएको छ । तर, यो कूटनीतिक प्रयास सफल हुनेमा आक्रमणको यो घटनाले प्रश्न चिह्न खडा गरेको छ । मङ्गलबार भएको विस्फोटको सिरियास्थित आईएस समूहले जिम्मेवारी लिएको छ । सिरियाली सहर होम्सका गभर्नर तलाल बाराजीले साना न्युज एजेन्सीसँगको कुराकानीमा पहिले एउटा कारबमद्वारा सुरक्षा जाँच केन्द्रमा आक्रमण गरिएको र लगत्तै एउटा आत्मघाती विस्फोट गराइएको पुष्टि गर्नुभएको छ । यसैबीच बेलायतस्थित सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले मृतक सङ्ख्या २५ पुगेको बताएको छ । मृतकमध्ये १५ जना सुरक्षाकर्मी रहेको पनि उक्त संस्थाको दाबी छ ।