एशियाड क्रिकेटमा नेपालको विजय यात्रा जारी, माल्दिभ्स ७ विकेटले पराजित
दक्षिण कोरियामा जारी १७औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल माल्दिभ्सलाई ७ विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा ३४ बल बाँकी छँदै माल्दिभ्सले दिएको ५४ रनको लक्ष्यलाई पूरा गरेको थियो । पहिलो ब्याटिङमा उत्रेको माल्दिभ्स १८ दशमलव ५ ओभरमा ५३ रन जोड्दै अलआउट भएको थियो । नेपालले १४ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै मादिभ्सको चुनौतीलाई भेटाएको थियो । नेपालको जितमा सुवास खकुरेलले सर्वाधिक २७ रन जोडे । त्यस्तै, कप्तान पारस खड्काले १५, सरद भेषवाकरले ६ रन जोडे भने सागर पुन र उपकप्तान ज्ञानेन्द्र मल्ले समान एक–एक रन जोडे । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा भुवन कार्की, शक्ति गौचन र सागर पुनले समान दुई–दुई विकेट लिए । कार्की यु–१९ उमेर समूहको राष्ट्रिय क्रिकेट टिमको कप्तानसमेत हुन् । त्यसैगरी, सोमपाल कामी र वसन्त रेग्मीले समान एक–एक विकेट लिए । बुधबार हुने क्वार्टरफाइनल खेलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ । यसअघि समूह चरणको पहिलो खेलमा नेपालले कुबेतलाई ९ विकेटले पराजित गरेको थियो ।