चितवनमा च्याउखेती गर्ने उपायको खोजी, उपराष्ट्रपतिले गरे उद्घाटन
उपराष्ट्रपति नन्दबहादुर पुनले नाकाको अवरोध छिट्टै अन्त्य हुनुपर्ने बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा रत्ननगर महोत्सव–२०७२ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा उहाँले भन्नुभयो– “वैशाखको भूकम्प र त्यसपछिको अवरोधका कारण जनताले पीडा र व्यथा पाएका छन्, त्यसको चाँडोभन्दा चाँडो अन्त्य होस् । सबैको यसप्रति ध्यान जाओस् भन्ने आग्रह गर्न चाहन्छु ।” उपराष्ट्रपति पुनले अवरोधका कारण राष्ट्रले ठूलो मानवीय तथा आर्थिक मूल्य चुकाउनु परेको भन्दै राष्ट्रिय उद्योग, व्यापार, व्यवसाय नराम्ररी प्रभावित हुन पुगेको उल्लेख गर्नु भयो । देशको निर्यात अवस्था बलियो भए मात्र देशको अर्थतन्त्र सुदृढ हुने बताउँदै उहाँले हिमाल, पहाड र तराईमा आर्थिक विकास आजको आवश्यकता भएको बताउनुभयो । यस्तो महोत्सवले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै उपराष्ट्रपति पुनले स्थानीय उत्पादन प्रवद्र्धन गर्न गाउँगाउँमा मेला महोत्सव आयोजना गर्नुपर्ने बताउनुभयो । सो अवसरमा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले नाकाबन्दी र भूकम्पका कारण उद्योग व्यापार प्रभावित भएको भन्दै राज्यका तर्फबाट सम्बोधन हुनुपर्ने धारणा राख्नु भयो । कार्यक्रममा सांसद शेषनाथ अधिकारीले त्यस क्षेत्रको समस्याहरु बुँदागत रुपमा प्रस्तुत गर्दै महोत्सवस्थल टिकौलीमा क्षेत्रीय रङ्गशाला बन्नुपर्ने माग गर्नुभयो । उद्घाटन समारोहमा मूल आयोजक समितिका संयोजक एवं रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर बिसुराल र रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले महोत्सवका बारेमा प्रकाश पार्नुभएको थियो । रत्ननगर उद्योग वाणिज्य सङ्घ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको महोत्सव आठौँ संस्करण हो । महोत्सव यही माघ २४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा चारसय ६५ वटा प्रदर्शनी कक्ष रहेका छन् । महोत्सवमा बङ्गलादेशको लत्ता कपडासहित आठ, चीनको कृषिसम्बन्धी दुई, पाकिस्तानको लेदरसम्बन्धी दुई र जापानको स्वास्थ्यसम्बन्धी एक तथा भारतको व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि, पर्यटन र ऊर्जालाई विशेष प्राथमिकता दिइएको छ । कृषिमा पनि केरा, माछा, च्याउ र कुखुराजन्य उत्पादन सामग्री राखिएका छन् । यस वर्ष महोत्सवमा च्याउखेती कसरी गर्ने भन्ने विषयमा प्रदर्शनी गरिनुका साथै स्थलगत भ्रमणको व्यवस्था पनि गरिएको छ । यसका साथै च्याउका परिकारका चार कक्ष पनि रहेका छन् । महोत्सवमा यसपटक इजरायली प्रविधिमा थोपा सिंचाई गर्ने प्रविधिको नमूना प्रदर्शनी गरिएको छ । यसपटकको महोत्सवमा चार लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब रु २० करोडभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ ।