मानव तस्करीको आरोपमा चर्चित गायक मेहन्दीलाई जेल सजाय, दाजुभाइ मिलेर गर्थे २ नम्बरी काम
असार ३०, नयाँ दिल्ली । मानव तस्करीको आरोपमा पञ्जाबी गायक दलेर मेहन्दीलाई जेल सजाय सुनाइएको छ। सन् २००३ मा उनिमाथि लागेको आरोप प्रमाणित भएपछि उनी जेल चलान भएका हुन्।
पटियाला जिल्ला अदालतले गायकले दायर गरेको निवेदन खारेज गर्दै उनलाई जेल पठाएको हो।
पटियालाको एक जिल्ला अदालतले आज दलेर मेहन्दीलाई २००३ मा भएको अवैध आप्रवासी र्याकेट मुद्दामा दोषी ठहर गर्दै १५ वर्षपछि जेल सजायको आदेश सुनाएको छ।
पटियालाका अतिरिक्त सत्र न्यायाधीश एचएस ग्रेवालले गायकलाई तत्काल पक्राउ गर्न आदेश दिएका छन्। १५ वर्ष अघिको यो मुद्दामा मेहन्दी र उनका भाइ शमशेर सिंह विरुद्ध कुल ३० वटा मुद्दा दायर गरिएको छ।
के थियो १५ वर्ष अघिको घटना?
दलेर मेहन्दी र उनका भाइ शमशेर मेहन्दीविरूद्ध पटियाला पुलिसले बक्षीस सिंहको उजुरीमा मुद्दा दायर गरेको थियो। उजुरीमा आरोप छ कि दुई भाइले उनीहरूलाई गैरकानुनी रूपमा अमेरिका जान सघाउन पैसा लिएका थिए। तर उनीहरू त्यसमा सफल भएनन्।
साथै, उजुरीकर्ताले आफूलाई क्यानडा लैजानका लागि गायकले पैसा लिएको पनि आरोप लगाएका छन्।
२०१८ मा दलेर मेहन्दीलाई पटियाला अदालतले दुई वर्षको जेल सजाय र १००० रूपैँया जरिबाना सुनाएको थियो। त्यसपछि मेहन्दी जमानतमा रिहा भएका थिए। तर, अहिले पटियाला जिल्ला अदालतले उनको जमानत खारेज गरेसँगै उनी २ वर्ष जेल बस्नै पर्ने भएको छ।