सागमा भाग लिन जाने खेलाडीहरुसँग राष्ट्रपतिको भेट, देशको नाम उँचो राख्न आग्रह


राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पहिचानलाई खेलको माध्यमबाट विश्वमाझ फैलाउन दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीसँग आग्रह गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो, “देशको पहिचानलाई विश्वमाझ फैलाउने यो सुनौलो अवसर हो । तपाईंहरूले विदेशी भूमिमा राष्ट्रिय झन्डा फहराउँदा सम्पूर्ण नेपालीले गौरव महसुस गरिरहेका हुन्छन् ।” राष्ट्रपति भण्डारीले खेलकुद विश्व भ्रातृत्वको भावना जगाउने माध्यम भएको बताउँदै दक्षिण एसियाली राष्ट्रबीच एकता कायम राख्ने माध्यम बन्न खेलाडीलाई आग्रह गर्नुभयो । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले देशमा भएका विविध समस्याका कारण खेलाडीको अभ्यास र सुविधामा असर परेको भए पनि खेलाडीमा भएको उच्च मनोबलले सफलता दिलाउने विश्वास व्यक्त गर्नुभयो । राखेपका सदस्यसचिव केशवकुमार विष्टले हालै फुटबल र क्रिकेटमा पाएका पछिल्ला सफलताले सम्पूर्ण खेलजगत्लाई नै हौसला मिलेको बताउँदै त्यस्तै उपलब्धि दोहोरिने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राष्ट्रिपति भण्डारीले नेपाली टोलीका नेता खेलकुदमन्त्री मण्डललाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, सहरी विकास राज्यमन्त्री मञ्जु चौधरी, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलगायतको उपस्थिति थियो । गुहमटी र सिलोङमा यही माघ २२ देखि फागुन ४ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत २३ खेलमा ३८४ नेपाली खेलाडीको सहभागिता छ । खेलकुदमन्त्री मण्डलसहितको नेपाली टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?