स्वदेश फर्किए उपराष्ट्रपति
उपराष्ट्रपति परमानन्द झा प्रथम चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा विशेष अतिथिका रुपमा भाग लिई स्वदेश फर्कनुभयो । उपराष्ट्रपति झालाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम, सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल, ऊर्जामन्त्री राधादेवी ज्ञवाली र मुख्यसचिव लीलामणि पौडेललगायत उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपराष्ट्रपति झाले यस वर्षको मेलामा नेपाललाई मात्र निम्त्याइएको र अर्को वर्षदेखिका कार्यक्रममा अरु देशलाई पनि निम्त्याउने जानकारी दिइएको बताउनुभयो । तिब्बतको संस्कृति मन्त्रालय र राष्ट्रिय पर्यटन केन्द्रले आयोजना गरेको मेलामा उपराष्ट्रपति झालाई विशेष अतिथिका रुपमा निम्त्याइएको थियो । मेलापछि उपराष्ट्रपति झाले कैलाश मानसरोवरको यात्रासमेत गर्नुभएको थियो । उपराष्ट्रपतिको भ्रमण दलमा उहाँकी धर्मपत्नी, उपराष्ट्रपति कार्यालयका सचिव राजकुमार मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेललगायतका अधिकारीहरु सहभागी हुनुभएको थियो । मेलामा विशेष अतिथिका रुपमा भाग लिन उपराष्ट्रपति झा असोज ८ गते तिब्बतको ल्हासातर्फ प्रस्थान गर्नुभएको थियो ।