सिड्नीमा महिलाविरुद्धको घरेलु हिंसासम्बन्धी फोटो प्रदर्शनी हुँदै
अष्ट्रेलियाको सिड्नीमा महिलाविरुद्धको घरेलु हिंसासम्बन्धी फोटो प्रदर्शनी हुने भएको छ । आगामी मार्च ५ तारिखका दिन ग्रानभिलमा आयोजना गरिने कार्यक्रममा विकसित देशमा रहेर पनि हिंसाको शिकार भएका घटनाहरुको चर्चा पनि गरिनेछ । “स्वयं पीडितहरुले नै महिलाविरुद्ध हिंसा कसरी हुने गर्दछ भन्ने कुरालाई अवगत गराउनेछन् । उनीहरुको अनुभव शेयर गर्नेछन्”, कार्यक्रमका संयोजकमध्येका एक अजय राजवंशीले एमएनटीभीलाई जानकारी दिए । राजवंशीका अनुसार डिनरसहितको कार्यक्रममा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा विभन्न क्षेत्रमा योगदान दिएका महिलाहरुलाई सम्मान समेत गरिनेछ । यस कार्यक्रमबाट संकलित रकम दैलेखमा आंग खस्ने समस्या भएका महिलाहरुको उपचारका लागि खर्च गर्ने योजना छ । कार्यक्रमको आयोजना युनाईटेड नेप्लीज आर्ट एण्ड ईन्टरटेन्मेन्ट र अल्प ईन्टरटेन्मेन्टले संयुक्त रुपमा गरेका हुन् । यसैगरी कार्यक्रममा विभिन्न कलाकारले महिलाविरुद्धको घरेलु हिंसा सम्बन्धी प्रहसन पनि गर्नेछन् ।