अफगानिस्तानको नयाँ राष्ट्रपतिमा असरफ घानीको सपथ


असरफ घानीले अफगानिस्तानको नयाँ राष्ट्रपतिका रुपमा सपथ लिनुभएको छ । उहाँले सोमबार सपथ लिएसँगै अफगानिस्तानमा दशकभन्दा लामो समयदेखि राष्ट्रपति रहनुभएका हमिद कारजायी विस्थापित हुनुभएको छ । सोमबार काबुलस्थित राष्ट्रपति भवनमा जम्मा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब एक हजार ४०० प्रतिनिधि एवम् वरिष्ठ सरकारी अधिकारी उपस्थित एक विशेष समारोहमा उहाँले सपथ लिनुभएको हो । उहाँ राष्ट्रपति भएलगत्तै उहाँको राष्ट्रपतीय निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहनुभएको अब्दुल्लाह अब्दुल्लाहका सहयोगी पनि कार्यकारिणी अधिकारसहितको प्रधानमन्त्री पदमा नियुक्त हुने कार्यक्रम रहेको छ । निर्वाचनका समयमा कुनैपनि पक्षले स्पष्ट बहुमत ल्याउन नसकेपछि यस विषयमा सहमति भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?