नेपाल बन्दलाई कसरी हेर्ने ?


भदौ ७, कामठाडौँ । सबैले स्वीकार्ने बुझाइको लागि मृगौला प्रत्यारोपणको उदाहरण लिऊँ । मृगौला प्रत्यारोपण गर्न सर्वप्रथम मान्छेलाई बेहोस पारिन्छ, छुराले पेट चिरिन्छ, रगत बगाइन्छ अनि बिग्रेको मृगौला झिकेर फालिन्छ । यदि दुईटै मृगौला काम नलाग्ने छन् भने झिकेको ठाउँमा अरु कसैको मृगौला राखेर गाँठो पारिन्छ। यो विज्ञान हो ।

यत्ति कुरालाई मात्र हेरियो भने यो थोरै बीभत्स देखिदैन । यदि धामीझाँक्रीले झारफुक गरेर उपचार गरेको भए यो जरुर यति बीभत्स देखिदैनथ्यो । तर स्वस्थ तन्दुरुस्त जीवनको लागि निर्मम नै भएपनि विज्ञानको विकल्प छैन ।

यो व्यक्तिगत सल्यक्रियाको कुरा भयो । ठीक त्यस्तै हाम्रा लागि सामाजिक सल्यक्रियाको आवश्यकतालाई आज कसैले पनि अस्वीकार गर्न सक्दैन । किनभने हाम्रो समाज खराबी, समस्या र अपराधले अस्वस्थ छ । यसलाई पनि स्वस्थ तन्दुरुस्त जीवन आवश्यक छ । त्यही आवश्यकताले आज नेपाल बन्द भयो ।

नेपाल बन्द भएको देखेर कतिपय मान्छेहरू गरिखाने र सर्वसाधारणको चिन्तामा बोल्न थाले । यो खुसीको कुरा हो । तर बन्दको अवस्था किन आउँछ ? गरिखाने र सर्वसाधारण मान्छेहरू मात्रै एकदिनको बन्दले ठूलो समस्यामा किन पर्छन् ? यतातिर तिनको ध्यान जाँदैन । तर हामी त्यतैतिर विचार गरौँ ।

आजसम्मका शासकहरूको बदमासी र अपराधले धेरै मान्छेलाई पशुवत आवश्यकतामै अल्झाइएको छ । तिनको चरम शोषण र दमनले शासकहरू आफू राजकीय सुविधा भोग गर्छन् । गणतन्त्रमा पनि राजाको जीवन बाँच्छन् । तर जनताहरू एकदिन काम नगरि खान पाउँदैनन् । उपचार पाउँदैनन् । रोजगारी पाउँदैनन् । महंगी, भ्रष्टाचार, हत्याहिंसा र बलात्कारले आक्रान्त हुन्छन् । नेताहरूको दलालीले राष्ट्रिय स्वाधीनता धरापमा पर्छ । न्यायको माग गर्नेहरू माथि झुटा मुद्दा लगाइन्छ । तब त्यसविरुद्ध न्यायप्रेमी सचेत तप्का र उत्पीडित जनताको बन्द हड्ताल पनि त्यति नै आवश्यक भएर आउँछ ।

बन्दका विरोधीहरूले भनेको सुनियो : यो २१औँ शताब्दी हो । समय धेरै बदलिँयो । गरिखाने र सर्वसाधारणले दुःख पाउने यस्ता बन्द, हड्ताल र विध्वंसात्मक राजनीतिको अब अर्थ छैन । तर तिनले के भनेनन् भने बन्दले सतहमा ल्याइदिएको असमानता जस्तो कि बन्दले गरिखाने र सर्वसाधारणलाई दुःख दिने तर शासकहरूलाई केही नहुने अवस्था किन छ ? यो त २१ औँ शताब्दी हो । समय धेरै बदलिँयो तर जनताका दुःख जस्ताको त्यस्तै किन छन् ? प्रष्ट छ, जनतामाथि कठोर अन्यायपूर्ण असमानता अझै कायम छ ।

अर्को कुरा, बन्दका विरोधी र स्वयम् बन्द पीडित मान्छेहरूले पनि धेरथोर भने : बन्दले सबै कुराहरू ठप्प भए, गरिखाने मान्छेहरूले काम गर्न पाएनन् । त्यसैले तिनलाई छाक टार्न समस्या भयो । सतहबाट हेर्दा यो सत्य पनि हो । तर २१औँ शताब्दीको धेरै बदलिँएको समयमा पनि जीवनभर दिनदिनै जोतिएर छाक टार्नुपर्ने बाध्यता समस्या हो कि होइन ? दुनियाँले ब्रह्माण्ड घुमिरहेको बेला हाम्रो जीवन गाँस खोज्नमै बित्नु समस्या हो कि होइन ? जरुर यो नेपाल बन्दभन्दा ठूलो समस्या मात्रै होइन, अझ नेपाल बन्द निम्त्याउने समस्या पनि यही हो ।

यद्यपि नेपाल बन्द पनि पीडाविहीन छैन । किनभने बन्द अस्वस्थ समाजको सल्यक्रियाको आवश्यकताले पैदा भएको विज्ञान हो । सल्यक्रियाको विधि धामीझाँक्रीले झारफुक गरेजस्तो सहज हुँदैन । तर स्वस्थ समाज निर्माणका लागि हामीले गाह्रो साह्रो सहनैपर्छ । उपचारको पीडादायी क्षणको सम्झनाले स्वस्थ तन्दुरुस्त जीवनको बाटो छेकेर अस्वस्थता पाली बस्नु कायरता हो ।

नेपाल बन्द न्यायपूर्ण आन्दोलनको शान्तिपूर्ण कार्यक्रम नै हो । यदि सबै उत्पीडितहरू एकजुट भएर शासकीय अन्यायविरुद्ध भोक त के जस्तोसुकै कठिनाइ पनि हामी सहन सक्छौँ भन्ने सन्देश दिनसके समाधान यही पनि सम्भव छ । नत्र अन्यायविरुद्धका संघर्षहरू झन् जटिलतातिर जाने निश्चित हुन्छ । नेपाली जनयुद्ध त्यसको सबभन्दा उत्कृष्ट उदाहरण हो । जहाँ अन्याय हुन्छ, त्यहाँ अन्याय विरोधी संघर्षहरू प्राकृतिक रुपमै भएर छाड्छन् । त्यहाँबाट कोही भाग्न सक्दैन ।

नेपाल बन्द न्यायपूर्ण आन्दोलनको न्युनतम कार्यक्रम पनि हो । यसले झन् जटिल संघर्षको लागि हामीलाई पीडा खप्ने आदन पनि दिन्छ । मृगौला प्रत्यारोपणका लागि गरिने व्यक्तिगत सल्यक्रियाभन्दा न्यायपूर्ण समाज निर्माणको लागि गरिने सामाजिक सल्यक्रिया बढी पीडादायी हुने र त्यो प्राकृतिक नै भएको कारण त्यहाबाट कोही भाग्न नसक्ने कुरा आई नै सक्यो । त्यसैले हामीभित्र कठोर पीडा सहन सक्ने आदतको आवश्यकता टट्कारो छ ।

बन्दले संघर्षसम्बन्धि ज्ञान र गरम बहसको पनि सिर्जना गर्छ । जसले गर्दा जनताका मित्र र दुश्मनहरूको कित्ता किलियर हुन्छ । उत्पीडित जनताभित्रका लम्पटहरू पनि बन्दको बेला छुट्टिन्छन् । तिनलाई विचार, दृष्टिकोण र शिक्षादीक्षा दिन सजिलो पनि हुन्छ । त्यसैले जनदुश्मनले होहल्ला गरेजस्तो बन्द निरर्थक हो, र जनताकै विरुद्ध हो भन्ने ठान्नु हुँदैन ।

-बडुवाल कपिल सिजापति

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?