सुडानमा बस दुर्घटना, ५६ जनाको मृत्यु
दक्षिण सुडानबाट युगान्डातर्फ गइरहेको एक बस एक ट्रकसँग ठ्क्कर खाँदा कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको जानकारी चिकित्सकहरूले दिएका छन् । दक्षिणी सुडानको राजधानी जुबामा अवस्थित प्रमुख अस्पतालका चिकित्सक जाभियर ओकादीले आरम्भमा प्रहरीले २० शव ल्याएको र पछि ल्याइएको शवको सङ्ख्या ५६ पुगेको जानकारी दिनुभयो । सोमबार बिहान दक्षिणी सुडानबाट युगान्डातर्फको प्रमुख राजमार्गमा उक्त दुर्घटना भएको थियो । उक्त बस तथा ट्रक एक पुलमा एकअर्कासँग ठक्कर खाएको प्रहरीले जानकारी दिएको छ । चिकित्सक ओकाडीले मर्नेमा प्रायः युगान्डाका नागरिक रहेको जानकारी दिनुभयो । उहाँले मर्नेमा करिब १५ व्यक्ति दक्षिणी सुडानका नागरिक भएको उल्लेख गर्नुभयो । एएफपीका समाचारदाताले अस्पतालको शवकक्षमा दर्जनौँ शव देखिएको जानकारी दिए । उनले धेरैको टाउकोमा चोट देखिएको बताए । दक्षिणी सुडानको राजधानीमा युगान्डाका व्यापारीले राम्रो व्यापार चलाएका छन् । यस मुलुकमा गत नौ महिनासम्मको गृहयुद्धमा दक्षिणी सुडानका सैनिकलाई युगान्डाका सैनिकले पनि सहयोग गरेका छन् ।