सिरियाली द्वन्द्वमा दुई लाख ७० हजारभन्दा बढीको मृत्यु
सिरियामा करिब पाँच वर्षयता जारी द्वन्द्वमा परी दुई लाख ७० हजार भन्दा बढी मारिएका एक मानव अधिकारीवादी समूहले गत मङ्गलबार जनाएको छ । यस द्वन्द्वमा परी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको बताइएको छ । सिरियाली द्वन्द्वमा मारिएका व्यक्तिहरुको नयाँ तथ्याङ्कको प्रकाशन सिरियामा युद्धविराम हुने घोषणा भएको एक दिनपछाडि भएको छ । सन् २०११ को मार्च महिनाबाट सुरु भएको यस द्वन्द्वमा परी दुई लाख ७१ हजार १३८ व्यक्तिले ज्यान गुमाएका बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ । यस द्वन्द्वमा मारिएकामा ७९ हजार १०६ जना सर्वसाधारण नागरिक रहेका र जसमा १३ हजार ५०० बालबालिका र आठ हजार ७६० महिला रहेका बताइएको छ । यसैगरी गैरजिहादी विद्रोही लडाकू ४६ हजार ४५२ जना मारिएका छन् । त्यसैगरी इस्लामिक र अतिवादी लडाकूहरु ४६ हजार ४५२ रहेका छन् । यी लडाकूहरुकमा विदेशीसमेत रहेका छन् । अब्जरभेटरीका अनुसार यसप्रकार मारिएका ती व्यक्तिहरुको तथ्याङ्कमा ९७ हजार ८४२ जना सरकार समर्थक लडाकूसमेत रहेका छन् । जसमा आधाभन्दा बढी सरकारी सैनिकहरु रहेका जनाइएको छ । अब्जरभेटरी समूहले गत डिसेम्बरमा प्रकाशित गरेको सिरियाली द्वन्द्वमा मारिएका व्यक्तिको सङ्ख्याभन्दा हाल प्रकाशित तथ्याङ्मा १० हजारले बढी रहेको बताइएको छ ।