६ बुँदे सिड्नी घोषणपत्र जारी गर्दै दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सकियो
नेपाली भाषा र साहित्यलाई बचाईँ राख्ने जिम्मेवारी हाम्रो हो भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सद्वारा आयोजीत दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न भएको छ । तीन दिनसम्म चलेको विश्व काव्य गोष्ठीमा भाग लिन विश्वका विभिन्न देशहरुबाट साहित्यकारहरू अष्ट्रेलियाको सिड्नीमा पुग्नुभएको थियो । महोत्सवको पहिलो दिन गत शुक्रबार विश्वका विभिन्न ठाउँबाट र अष्ट्रेलियाकै विभिन्न शहरबाट आएका अतिथिहरुलाई रात्रिभोजको आयोजना गरिएको थियो । उक्त अवसरमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार भीमसेन सापकोटाले अतिथीहरुलाई स्वागत गरेका थिए भने यस लगत्तै सिड्नीका स्थापित हाँस्यकलाकार भूपेन्द्र चुडालले दर्शकहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाएका थिए भने चर्चित नेपिन्डो ग्रुपबाट नृत्य प्रस्तुत भएको थियो । अनेसास एन एस डव्लु च्याप्टरका महासचिव विकाश उप्रेतीले गायनबाट मनोन्जन दिएका थिए भने मेलबर्नमा रहेका गायक एवं सञ्चारकर्मी दिक्पाल देव पंगेनीले आकर्षक ढंगले कार्यक्रमको सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रम सकिएलगत्तै अनौपचारिक प्रस्तुतीमा एक दर्जन भन्दाबढी साहित्यकारहरूले गजल, कविता, मुक्तक सुनाएका थिए । कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, डा. प्रोफेसर तथा साहित्यकार गार्गी शर्मा साहित्यकार होमनाथ सुवेदी,साहित्यकारहरु उमा कार्की विन्ध्या सुब्बा पुष्प शर्मा एन एस डव्लु च्याप्टरका सम्पूण पदाधिकारी,समाजका अग्रजहरुको उपस्थिती रहेको थियो । कार्यक्रम रकडेलस्थित एभरेष्ट तन्दुरी एण्ड फंक्सन सेन्टरमा भएको थियो । विश्वका विभिन्न १० देशबाट १० भन्दा बढी साहित्यकारहरु सिड्नीमा हुनुहुन्छ । जापान, अमेरिका, कोरिया, भारत, नेपाल, इजरायल हंङ्कङ र अस्ट्रेलियाका विभिन्न राज्यहरुबाट सहभागीहरु संलग्न छन् ।
नेपाली भाषा र साहित्यको विकासमा लामो समय अध्ययन, अनुसन्धान र अध्यापन गर्नुभएका डा गार्गी शर्मा, डा खगेन्द्र लुईटेल, लिला लुईटेल, विन्ध्या सुब्बा, अनेसास अध्यक्ष पदम विश्वकर्मा, अनेसासका सँस्न्थापक होम नाथ सुबेदी डा कविता लामा, डा पुष्पा शर्मा, भयवादका प्रवद्र्धक तथ हंङ्कङमा सक्रिय साहित्यका देश सुब्बा, निशा अर्याल, सिता पाण्डे लगायत सिड्नीमा बस्दै आउनु भएका केदार पोखरेल, उमा कार्कि, निशा अर्याल ,दुर्गा घिमिरे , नवराज कार्की, अल्पविराम पोखरेलीको कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
यसैक्रममा कार्यक्रमको दोस्रो दिन साहित्य र विविध क्षेत्रमा योगदान पुर्याउने नारी हस्ताक्षरहरूलाई सम्मान गरिएको थियो यस्तै कवि भीमसेन सापकोटा को कृति प्रश्नमा ईश्वर लोकार्पण गरियो । यससँगै अन्य साहित्यकार एवं कविका विभिन्न ८ वटा कृति पनि एकै साथ विमोचन भएको छ । बिन्द्या सुब्बाको नारी साहित्यको कार्यपत्र, दर्जनौं दमदार रचना वाचन , शुभकामनाका मन्तब्यले दोस्रो दिन विसेष जम्यो । महामहिम राजदुत रुद्रकुमार नेपाल, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुबेदी, अध्यक्ष पदम विश्वकर्मा, प्रा डा गार्गी शर्मा, डा कविता लामा, एनआरएनका न्यू साउथवेल्स संयोजक दिनेश पोख्रेल, एनआरएन आईसीसी सल्लाहकार ईन्द्रा वन लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
तेश्रो दिनमा घोषणपत्र
तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम दिन डायस्पोरामा महिला साहित्य र डायस्पोरा साहित्यको विषयमा प्रफेसर लीला लुईटेल र भावा लामाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि डा. खगेन्द्र लुईटेलले समिक्षा गर्नुभयो । कार्यपत्रमाथिको छलफल पश्चात विभिन्न ४४ साहित्यकारहरुले आफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा उपस्थितहरुलाई छन्द कविताको प्रशिक्षण दिइएको थियो । प्रशिक्षण साहित्यकार दुर्गा रिजालले दिनुभयो । अन्तिम दिन ६ बुँदे सिड्नी घोषणापत्र समेत जारी गरियो । घोषणापत्रमा नेपाली साहित्यलाई प्रवासमा प्रबद्र्धन गर्नका लागि नारीहरुको विशेष भूमिका रहनुपर्ने विषयमा उल्लेख गरिएको छ । यसपछि कार्यक्रममा सहभागी र सहयोगी सबैलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी बन्नुभएका वरिष्ठ साहित्यकारहरुले यस किसिमको बृहद जमघट वास्तवमै प्रशंसायोग्य काम भएको बताएका छन् । उनीहरुले काठमाडौंमा समेत विरलै हुने यस्तो जमघट अष्ट्रेलियाको सिड्नीमा गर्नसक्नु आयोजकको सफलता भएको बताएका छन् । सम्मेलनको आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सले गरेको हो ।