महिलाविरुद्धको हिंसा अन्त्यको आह्वानसहित नारी निकुञ्जको गाला डिनर र अन्तरक्रिया


हरेक वर्षझैं यो वर्ष पनि ८ मार्चलाई विश्वरभर नारी दिवसको रुपमा मनाइँदैछ । यस अवसरमा विश्वमै विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यसैक्रममा एनआरएन महिला फोरम नारी निकुञ्ज अष्ट्रेलियाले सचेतना अभिबृद्धिका लागि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मुख्यतः विकसित भनिएका अष्ट्रेलिया जस्ता देशमा पनि नेपाली महिलामाथि पारिवारिक हिंसा हुने गरेको र यसलाई निराकरण गर्न चेतना आवश्यक भएको महसूस गरी नारी निकुञ्जले यस पटक दुई विशेष वक्ताहरुलाई हिंसाका प्रकार, मानसिक स्वास्थ्यका विषयमा जानकारी दिन निम्त्याएको थियो । nari nikunja महिला विरुद्धको हिंसा सम्बन्धी एक भिडियो प्रस्तुतिबाट कार्यक्रमको सुरुवात गरिएको थियो भने घरेलु हिंसाका विषयमा पल्लभी सिन्हाले प्रमुख वक्ताका रुपमा आफ्नो धारणा राखेकी थिइन् । उनले कतिपय आफुलाई सामान्य लागेका कुरा पनि हिंसा भएको भन्दै तिनलाई सहँदै जाँदा यसले विकराल रुप लिनसक्नेतर्फ पहिले नै सचेत बन्नुपर्ने बताएकी थिइन् । यस्तै कार्यक्रममा डा. घनश्याम चापागाईले घरेलु हिंसा र मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेर आफ्नो धारणा राखेका थिए । चापागाईंले बाल्यअवस्थामा हुने विभिन्न खाले हिंसाका कारण मानसिक स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने र घरेलु हिंसाका प्रकार र यिनल स्वास्थ्य पार्ने असरका बारेमा आफ्नो धारणा राखेका थिए । यस्तै न्यूसाउथवेल्स प्रहरीको तर्फबाट बहुसांस्कृतिक लियाजो अफिसर रचना मल्लिकले पारिवारिक हिंसाका घटना भएमा कसरी प्रहरीसम्म पुग्ने र कानूनी उपचार प्राप्त गर्ने भन्ने विषयमा प्रकाश पारेकी थिइने । कार्यक्रममा महिलाविरुद्धको हिंसा सम्बन्धी प्रतिकात्मक नाटक पनि प्रदर्शन गरिएको थियो भने विभिन्न कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । संकलित रकमबाट नेपालमा सहयोग आवश्यक रहेका महिलाहरुको स्वास्थ्य र शिक्षामा योगदान दिने नारी निकुञ्जको कार्यक्रम छ । नारी निकुञ्जले विभिन्न स्थानमा आंग खस्ने समस्या पीडित महिलाहरुका लागि कार्यक्रम गर्दै आएको छ भने वार्षिक २ जना बालिकाहरुलाई छात्रवृत्ति पनि प्रदान गरिरहेको छ ।  कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले नारी निकुञ्जले थालेको हरेक अभियानमा हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको बताएका थिए । कार्यक्रमकी प्रमुख अतिथि महिला एवं बहुसंस्कृति छायाँमन्त्री सोफी कोट्सीसले हिंसा गर्नेजत्तिकै सहने पनि दोषी हुने भएकोले यस्तो अपराधलाई सहन नहुने बताएकी थिइन् । कार्यक्रमको सभापतित्व नारी निकुञ्जकी संयोजक सिर्जना संग्रौलाले गरेकी थिइन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?