हप्ते झरी र गरिखानेहरू
असोज २४, काठमाडौँ ।
जब हप्ता दिनसम्म झरी पर्छ
म सम्झन्छु : हुनेखानेहरू
ती चाहन्नन् घरबाहिर निस्किन
ती चाहन्नन् पानीमा रुझ्न ।
ती चाहन्छन् सिरक ओडेर सुत्न
ती चाहन्छन् पाेषिलाे झाेल खान
त्योभन्दा अरु हुँदैन पीर, हुँदैन चिन्ता ।
जब हप्ता दिनसम्म झरी पर्छ
म सम्झन्छु : गरिखानेहरू
हप्ता दिनसम्म के गरि खाँदा हुन्
हप्ता दिनसम्म पखेराेकाे झुप्राे
पहिरोकाे त्रासले कति तड्पिदाे हाे
हप्ता दिनसम्म किनारकाे छाप्रो
बाढीको डरले कति छट्पटिदाे हाे ?
जब हप्ता दिनसम्म झरी पर्छ
म सम्झन्छु : काला बजारीयाहरू
एकदिने नेपाल बन्दकाे बेला
गरिखानेहरूकाे चिन्ता र पीरमा
तिनले चुहाउने गाेहीका आँसु
किन बग्दैनन् हप्ते झरीकाे बेला ?
गरिखानेहरू बिरामी पर्दा के गर्दा हुन्
सन्तानको बिहेमा, चाडपर्वकाे बेला
गरिखानेहरू के गरिसक्दा हुन् ?
तर मुनाफाखाेरलाई यसकाे हुँदैन चासो
बस्, हुनुभएन नेपाल बन्द
गरिनुभएन जनसंघर्ष
राेकिनुभएन उनीहरूकाे धन्दा
नत्र कालाे धन्दाकाे चक्र ताेडिन सक्छ
नत्र जागरणकाे दावनल बल्नसक्छ
नत्र समानताको शिलन्यास हुनसक्छ ।
तर गरिखानेहरूले अझै छ गर्न
नेपाल बन्दका कठाेर संघर्षहरू
छाक छुट्ने त्रासका बिलाैना छाडेर
बाँकी छ दिन मृत्युुलाई हाँक ।
हप्ते झरीमा हाेस् वा बिरामी पर्दा
भाेकभाेकै पर्ने अवस्था ताेड्न
र, अझ त्याेभन्दा बढी
महान मानवीय जीवनकाे पनि
बाँकी छ अझै सृष्टि गर्न ।
® बडुवाल कपिल सिजापति, अछाम