‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा चुनाव प्रतिस्पर्धात्मक
असोज २७, सिन्धुपाल्चोक । ‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोक जिल्लामा चुनावले चर्चा पाएको छ। प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा मन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको केन्द्रीय नेताहरूको चुनावी प्रतिस्पर्धाले चर्चा कमाएको छ।
सिन्धुपाल्चोक जिल्लामा सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक १ नम्बर क्षेत्र पायो, तर सभामुख अग्नि प्रसाद सापकोटाले युवा पुस्तालाई अघि सारे। माओवादीले सभामुखको साटो माधव सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो।
बरु गठबन्धन नै नगर्ने, तर क्षेत्र नम्बर १ नछाड्ने अडानमा रहेका पूर्व सञ्चार मन्त्री मोहन बस्नेत माग सुनुवाइ नभए पनि गठबन्धन बाटै क्षेत्र नम्बर २ मा उम्मेदवार भएका छन्। सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र २ मा कांग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट पूर्व मन्त्री समेत रहेका शेरबहादुर तामाङबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।
३० वैशाखको स्थानीय चुनावमा वडा अध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा हेर्दा सिन्धुपाल्चोक २ मा एमाले पहिलो दल हो। सत्ता गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा एमाले भन्दा सत्ता गठबन्धन अगाडि छ। आफ्नो क्षेत्र नभएकोले बस्नेतका लागि चुनाव सजिलो नभएको तर्क चलिरहँदा कति सम्म मतान्तरले जित्ने भन्ने विषयमात्र बाँकी रहेको बस्नेतको तर्क छ।
मोहन बहादुर बस्नेतसँगको प्रतिस्पर्धी एमालेका उम्मेदवार शेरबहादुर तामाङको यो आफ्नै क्षेत्र हो। एमाले नेताहरू पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँछन्। गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादीको किचलोका कारण गठबन्धनको मत सबै अर्को पक्षले नपाउँदा आफ्ना मत संरक्षण गर्दा पनि आफूले जित्ने दाबी तामाङको छ।
२०६४/७० र २०७४ को संसदीय निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाले स्वेच्छाले चुनाव नउठेका हुन्। यो क्षेत्रमा गठबन्धनबाट माओवादीले माधव सापकोटा सुबोधलाई र एमालेका केन्द्रीय सदस्य सरेश नेपाललाई चुनावी मैदानमा उतारेको छ। ४ प्रदेश क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले २-२ सिट बाडेका छन्।
सिन्धुपाल्चोकमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५७ जना प्रतिस्पर्धामा छन्। यसअघिका चुनावमा लगातार हार बेहोरेपछि राप्रपा नेता पशुपति सम्शेर राणा यस पटक समानुपातिकमा गएका छन्।
चार जनाले गरे उम्मेदवारी फिर्ता
सिन्धुपाल्चोकमा चार जनाले उम्मेदवारी फिर्ता गरेका छन्। फिर्ता गर्नेमा प्रतिनिधि सभा २ को उम्मेदवार यास्मिन ढुङ्गाना, २(क) का फणीन्द्र प्रसाद दाहाल, २ (ख) का योगेन्द्र राज सिग्देल रहेका छन्। उनीहरूले राप्रपाको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । ढुङ्गाना राप्रपा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्।
प्रतिनिधि सभा २ (क) मै स्वतन्त्र उम्मेदवारी दिएका जिमी लामाले पनि माओवादी केन्द्रका उम्मेदवार युवराज दुलाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका छन्। लामा र दुलालले एक सहमति पत्रमा हस्ताक्षर गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।