चुनावी अंकगणित जाजरकोट : दुवै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन बलियो
असोज २८, सुर्खेत । पछिल्लो तीन दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलिय प्रतिस्पर्धा हुने गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि नेकपा (माओवादी केन्द्र) मिसिएको छ। जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ।
कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा माओवादीले बाजी मा¥यो। क्षेत्र नं १ बाट कालीबहादुर मल्ल र क्षेत्र नं २ बाट भक्तबहादुर शाह विजयी भए। त्यसयताका हरेक निर्वाचनमा माओवादी भने जिल्लामा नतिजा शून्य हुनुपरेको छैन।
२०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नं १ बाट माओवादीका शक्तिबहादुर बस्नेत निर्वाचित भए, क्षेत्र नं २ बाट भने कांग्रेसका राजीवविक्रम शाहले चुनाव जितेका थिए।
२०७४ मा प्रतिनिधिसभाको निर्वाचन हुँदा जाजरकोट एउटै निर्वाचन क्षेत्रमा कायम भयो। उक्त निर्वाचनमा बस्नेत र शाह आमने–सामने भए। तर एमालेको समेत साथ पाएका बस्नेतले बाजी मार्दा शाह पराजित भए । बस्नेतले ३२ हजार दुई सय ८१ मत पाउँदा शाहले २३ हजार दुई सय ८९ मत पाएका थिए।
प्रतिनिधिसभाको कार्यकाल पूरा भइसकेकाले आगामी मंसिरमा पुनः निर्वाचन हुँदैछ। यसपटकको निर्वाचनमा माओवादी केन्द्रले पुनः शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ। अघिल्लो पटक एमालेको साथ पाएर जितेका बस्नेत यसपटक नेपाली कांग्रेससहितको सत्तागठबन्धनको साथमा लगातार तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन्।
बस्नेतसँगको प्रतिस्पर्धामा एमालेले युवा नेता निरज आचार्यलाई अघि सारेको छ। अघिल्लो पटक माओवादीसँगको गठबन्धनका कारण प्रदेशसभा सदस्यको उम्मेदवार हुन नपाएका आचार्य यसपटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्।
को कति बलियो ?
२०७४ को स्थानीय निर्वाचन हुँदा जाजरकोटमा एमाले पहिलो दल थियो । जिल्लाका सातमध्ये तीन पालिका प्रमुखसहित २९ वडाअध्यक्ष एमालेले जितेको थियो। दोस्रो स्थानमा रहेको कांग्रेसले दुई पालिका प्रमुखसहित २५ वडाअध्यक्ष र माओवादीले दुई पालिका प्रमुखसहित २३ वडाअध्यक्ष जितेको थियो।
त्यसको पाँच वर्षपछि २०७९ वैशाखमा दोस्रो पटक स्थानीय निर्वाचन हुँदा एमाले र कांग्रेसले समान तीन-तीन पालिका जितेका छन्। माओवादीले भने एउटा पालिकाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भयो। सोही निर्वाचनलाई आधार मानेर हेर्दा जिल्लामा सत्तारुढ गठबन्धनसँग करिब ४० हजार हाराहारी मत छ। एमालेको मत २६ हजार हाराहारी रहेको देखिन्छ।
प्रदेशतर्फ
प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा अघिल्लो पटक गठबन्धन गरेका एमाले र माओवादीले एक-एक क्षेत्र बाँडेका थिए। जसअनुसार प्रदेशसभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार नौ सय ११ मत पाएर निर्वाचित हुँदा कांग्रेसका बेदराज सिंहले १२ हजार आठ सय ७८ मत पाए।
त्यसैगरी प्रदेश सभा (ख) मा बाम गठबन्धनकै उम्मेदवार एमालेका करवीर शाहीले १५ हजार एक सय ८५ मत ल्याएर विजयी भए। कांग्रेसका दिपकजंग शाहले १० हजार तीन सय ६० मत पाएका थिए।
यसपटक एमाले एकातिर छ भने कांग्रेस र माओवादीसहित एमालेबाट टुक्रिएको एकीकृत समाजवादीलगायत सत्तारुढ दल अर्कोतिर छन्। त्यसैले पनि प्रदेशसभाको दोस्रो निर्वाचन जाजरकोटमा थप रोचक हुने देखिन्छ।
निर्वाचन क्षेत्र नं १ (क) मा भेरी र नलगाड नगरपालिकासहित बारेकोट गाउँपालिका र कुसे गाउँपालिकाको पाँच वटा वडा रहेका छन्। गत वैशाखको स्थानीय निर्वाचनको मतअनुसार यो क्षेत्रमा सत्तागठबन्धनसँग करिब २२ हजार मत छ। एमालेसँग करिब १४ हजार मत रहेको देखिन्छ। सत्ता गठबन्धनबाट प्रदेश ‘क’ मा नेपाली कांग्रेसका वेदराज सिंह उम्मेदवार हुनेछन्। एमालेले डम्मरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ।
यसैगरी, छेडागाड नगरपालिकासहित जुनिचाँदे, शिवालय गाउँपालिका र कुसे गाउँपालिकाका चार वटा वडा रहेको क्षेत्र नं १ (ख) मा गठबन्धनसँग करिब १८ हजार मत छ। एमालेसँग भने १२ हजार हाराहारी मत छ। प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसले राजिव विक्रम शाहलाई उम्मेदवार बनाएको छ भने एमालेले खिमबहादुर शाहीलाई अघि सारेको छ। यिनै दुई उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको छ।