राजधानीको सडकमा सुविधासम्पन्न बस गुडेको देखेपछि ढुंगा प्रहार गर्ने को ?
सञ्चालनको दोस्रो दिनमै महानगर यातायात प्रालिको मेट्रो बसमा ढुङ्गा प्रहार भई क्षति पुगेको छ । चक्रपथ घुम्ने क्रममा बस एकान्तकुना हुँदै बल्खु आइपुगेको थियो । सोही क्रममा बा४ख १०६ नंको बसमा ढुङ्गा प्रहार हुँदा क्षति पुगेको हो । कसले ढुङ्गा हानेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार बसको झ्यालको सिसा फुटेको छ भने मानवीय क्षति भएको छैन । मुख्यतः थोत्रा बस सञ्चालन गर्ने यातायात व्यवसायीहरुले आफ्नो रोजीरोटीको दुहाई दिँदै यस्तो घृणित कार्य गरेको एक प्रहर िअधिकारीले बताए । उनका अनुसार यातायातमा यात्रुलाई लुट्न पल्किएकाहरुले सुविधासम्पन्न बस ल्याएको विषयमा विरोध जनाएका थिए । उनीहरु अब यात्रु आफुहरुको बसमा नआउने भन्दै आक्रोशित बनेका छन् । सुविधासम्पन्न उक्त बस कहाँ आइपुग्दैछ भनेर यात्रुले एप्स हेरेर आउने समय पत्ता लगाउन सकिने सुविधा छ । आइतबार उद्घाटन गरिएको ३९ बसका लागि प्रालिले रु १६ करोडको लगानी गरेको छ । उक्त बसमा यात्रुले निःशुल्क वाइफाइका साथै टेलिभिजन सुविधा पनि पाउनेछन् ।