नेपाल चार्टड एकाउन्टेन्टस् संस्था र अष्ट्रेलियाको सीपीएबीच पारस्परिक सहकार्य सम्झौता
नेपालमा रहेका चार्टड एकाउन्टेन्टहरुको नियमनकारी संस्था नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आईक्यान) र अष्ट्रेलियाको सर्टिफाईड पब्लीक एकाउन्टेन्ट संस्थाबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । नेपालबाट आईक्यानका अध्यक्ष प्रकाश लम्साल, उपाध्यक्ष महेश खनाल र कार्यकारी निर्देशक विनयप्रकाश श्रेष्ठको टोलीले मेलबर्नमा एक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि अब आईक्यानसँग आबद्ध चार्टड एकाउन्टेन्टहरुलाई सीपीएले मान्यता प्रदान गर्नेछ । नेपाली चार्टड एकाउन्टेन्टहरुलाई अब अष्ट्रेलियामा समेत काम गर्न ढोका खुलेको छ । यसैबीच, अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले भ्रमण टोलीलाई आफ्नो कार्यालयमा स्वागत गर्नुभएको छ । मेलबर्नको एलिजावेथ स्ट्रीटमा रहेको महावाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा यस किसिमको भ्रमणले नेपाली समूदायलाई उत्साहित बनाएको योञ्जनले बताउनुभयो । नेपाली चार्टड एकाउन्टेन्टहरुलाई अष्टे्रलियाको सोही प्रकृतिको संस्थाले मान्यता दिँदा अब नयाँ आयामहरु खुलेको पनि उहाँले बताउनुभएको थियो । भ्रमण टोलीको तर्फबाट बोल्दै अध्यक्ष लम्सालले अष्ट्रेलियामा नेपाली समूदायको उपस्थितिबाट खुशी लागेको भन्दै स्वागतका निम्ति महावाणिज्यदूतको कार्यालयलाई धन्यवाद दिनुभएको थियो ।