अर्घाखाँचीको विद्यालयलाई कम्प्युटर दिन च्यारिटी डिनर आयोजना
देशको सिमानाभन्दा टाढा रहेपछि देशको माया अझ बढी हुँदो रहेछ शायद । यसैले त सबैजना सबै तहबाट कुनै न कुनै सहयोगका कार्यक्रम गरिरहन्छन् । अझ अष्ट्रेलियामा त सानोतिनो जमघटबाटै पनि सहयोगका विभिन्न योजनाहरु बन्छन् र तिनलाई तत्कालै कार्यान्वयनमा ल्याउने तत्परता पनि देखाउँछन् सहभागीहरु । यसै मेसोमा अष्ट्रेलियाको सिड्नीस्थित अन्नपूर्ण रेष्टुरेन्टले पनि एक च्यारिटी डिनरको आयोजना गरी अर्घाखाँचीको ढिकुरा डेभामा अवस्थित भगवती माध्यमिक विद्यालयलाई तीन वटा कम्प्युट र एउटा प्रोजेक्टर सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । रेष्टुरेन्टका सञ्चालक सुदर्शन भुसालका अनुसार विद्यालयलाई प्रोजेक्टर भने व्यक्तिगत तवरमा उनले नै दिन लागेका हुन् । उक्त च्यारिटी डिनरमा सिड्नीका स्थापित हाँस्य कलाकार भुपेन्द्र चुडाल, ले आफ्ना प्रस्तुतिबाट उपस्थितहरुलाई मनोरञ्जन दिनुभएको थियो । यस्तै गायक सञ्जिव पराजुली र अबुन पाण्डेले पनि आफ्नो दर्जनभन्दा बढी प्रस्तुतिले उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रबन्धक विश्वनाथ योगीले भायलिनबादन बाट संगीतको स्वागत लिन सफल भएका थिए । सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आफ्नो संस्थाले यस किसिमको कार्यक्रम आयोजना गरेको र सहयोगको यो क्रमलाई आगामी दिनमा पनि जारी राख्ने रेष्टुरेन्टका सञ्चालक सुदर्शन भुसाल र बाबुराम पोखरेलले एमएनटीभीलाई बताए ।