बलिउडका यी सेलिब्रेटी जो पटाकाको विरोध गर्छन्
कार्तिक ४, मुम्बई । भारतमा धूमधामका साथ दिपावली (दिवाली) मनाइन्छ। हरेक वर्षझैं यो वर्ष पनि धूमधामका साथ दिपावली मनाउने तयारी भइरहेको छ। मानिसहरू बजारदेखि घरमा पनि बिजुली जोडेर उज्यालो बनाइरहेका छन्। दिवालीमा अधिकांशले पटाका पनि पड्काउँछन्। बलिउडका केही सेलिब्रेटी छन्, जो पटाकादेखि टाढा हुन्छन्।
प्रियंका चोपडा
यो सूचीमा पहिलो स्थानमा अभिनेत्री प्रियंका चोपडा पर्छिन्। उनलाई अस्थमाको समस्या छ र पटाकाबाट निस्कने धुँवाले उनलाई श्वास लिन समस्या हुन्छ। यो कुराको जानकारी उनले एक अन्तर्वार्तामा दिएकी थिइन्। तर लगत्तै उनले सिगरेट पिउँदै गरेको एक तस्बिर भाइरल भएपछि उनी ट्रोल बनेकी थिइन्।
आलिया भट्ट
अभिनेत्री आलिया पनि पटाका विरोधी अभिनेत्रीमा पर्छिन्। उनी हरेक वर्ष दिवालीमा पटाका नपड्काउन आह्वान गर्छिन्।
अनुष्का शर्मा
अभिनेत्री अनुष्का दीप, मिठाईका साथ दिवाली मनाउन मन पराउँछिन्। गत वर्ष जब क्रिकेटर पति विराट कोहलीले दिवालीमा पटाका नपड्काउन अपिल गरेका थिए, मानिसले क्रिकेटरसँगै अभिनेत्रीबीच विभेद छुट्याएका थिए।
सोनम कपूर
अभिनेत्री सोनम पनि पटाका पड्काउन मन पराउँदिनन्। पटाकाले मानिससँगै जनावरलाई पनि असर गर्ने भएकाले नपड्काउन उनको अपिल आउने गर्छ।
आमिर खान
आमिरले एक विज्ञापनमार्फत पटाका नपड्काउन अपिल गरेका थिए। यो अपिलपछि उनलाई ट्रोल बनाइएको थियो।
अजय देवगन
अभिनेता अजय पटाका पड्काउन मन पराउदैनन्। पटाकाले वायु प्रदूषणसँगै जनावरलाई पनि असर पर्ने उनको मान्यता छ।
नेहा धूपिया
अभिनेत्री नेहाले पर्यावरण बचाउन गत वर्ष आममानिसलाई पटका नपड्काउन अपिल गरेकी थिइन्। उनले पटाकालाई पर्यावरणसँगै बालबच्चामा पनि असर पर्ने दाबी गरेकी थिइन्।
हर्षवर्द्धन कपूर
अभिनेता अनिल कपूरका छोरा हर्षवर्द्धनले एक ट्विटमार्फत दिवालीमा पटाका नपड्काउन अपिल गरेका थिए। तर अपिल गरेको केही समयमै ट्विट हटाएका थिए। किनकि उनका फ्यानले अनिल कपूरले पटाका पड्काउँदै गरेको तस्बिर उनको सामाजिक सञ्जाल एकाउन्टमा पठाएका थिए।