नमूना बालगृहको सहयोगका लागि मेलबर्नमा च्यारिटी डिनर आयोजना हुँदै
मोरंग समाज भिक्टोरिया र प्रवासी नेपाली मञ्च भिक्टोरियाको संयुक्त पहलमा मोरंगको उर्लाबारी ४ मा रहेको नमूना बालगृहको सहयोगका लागि च्यारिटी डिनरको आयोजना हुने भएको छ । प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपानेका अनुसार यस कार्यक्रमबाट उठेको सम्पूर्ण रकम बालगृहकी सञ्चालिका मिनादेवी बरालको खातामा सिधै जम्मा गरिनेछ । अप्रिल १ तारिख शुक्रबार मेलबर्नको ४१९ हाईस्ट्रीट नर्थकोर्ट डाउन अन्डर करी रेष्टुरेन्टमा डिनर कार्यक्रम सञ्चालन गरिने मोरंग समाज भिक्टोरियाका अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिनुभयो । २०५७ सालमा खोलिएको यो बालगृहमा अहिलेसम्म ४२ बालबालिकाले आफ्नो भविष्यको सपना साकार पार्न पाएका छन् । समाजमा विभिन्न कारणबाट छोडिएका, आफन्त नभएका र सहयोगको आवश्यकता भएका बालबालिकाहरुलाई यहाँ राखिएको छ । कतिपय विभिन्न यौन हिंसा पीडित बालिकाहरुलाई पनि राखिएको र उनीहरुलाई शिक्षादिक्षाको राम्रो व्यवस्था गरिएको नमूना बालगृह सञ्चालक संस्थाकी अध्यक्ष मिनादेवी बरालले बताउनुभयो । बालगृहको सञ्चालनका लागि बरालकै अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण गरिएको छ । स्मरणीय के छ भने यो संस्थालाई २०७१ मा सरकारी सर्वेक्षणमा नेपालभित्र रहेका ४२ हजार सामाजिक संघसंस्थामध्ये उत्कृष्ट ५ को सूचिमा राखिएको थियो । सरकारी तवरबाटै यस्तो मान्यता पाएको बालगृहको आर्थिक पक्षबारे एमएनटीभीसँग कुरा गर्दै बरालले भन्नुभयो, “म आफैं पनि बालविवाहको पीडित हुँ । जब मैले यस्तो महसूस गरें तब महिला र बालबालिकाको क्षेत्रमा केही गर्ने अठोटका साथ आफ्नै सम्पत्तिबाट सुरुवात गरेको थिएँ । त्यसपछि विस्तारै सहयोगी हातहरु जोडिन आउनुभयो । अहिले हाम्रो यो संस्थालाई देशभित्र र देशबाहिरका विभिन्न महानुभावहरुले सहयोग गरिरहनुभएको छ । कुनै दिन त यस्ता पनि थिए कि आश्रय दिएका बालबालिकालाई भोलि के खुवाउने हो भन्ने समस्या समेत परेको थियो । तर, हामीलाई शायद भगवानले हेर्नुभयो । समस्याहरु विस्तारै समाधान हुँदै गए ।”
अहिले अष्ट्रेलियाको भ्रमणमा रहनुभएकी अध्यक्ष बरालकै खातामा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको बालगृहका सल्लाहकार डा. चन्द्रदिपक पोखरेलले जानकारी दिनुभयो ।
Account details:
MINA DEVI BARAL
COMMONWEALTH BANK OF AUSTRALIA
BSB: 063254
ACCOUNT NUMBER: 10736083