३२ वर्षपछि ‘जमाई राजा’ को रिमेक
कार्तिक ४, मुम्बई । बलिउडमा भलै रिमेक फिल्म फ्लप भए पनि निर्माताले रिमेक गर्ने कामलाई छोडेका छैनन्। यही क्रममा सन् १९९० मा रिलिज हिट फिल्म ‘जमाई राजा’ को पनि रिमेक हुँदैछ । अनिल कपूर र माधुरी दीक्षित स्टारर यो फिल्म ३२ वर्षपछि रिमेक हुन लागेको हो।
इन्टरटेनमेन्ट कम्पनी शेमारु र इन्डिया मिडिया इन्टरटेनमेन्ट नेटवर्क (आईएमईएन) ले यसको रिमेक गर्ने निर्णय लिएको हो। यो फिल्म यसअघि तेलुगुमा सन् १९८९ मा ‘अट्टाकु यामुदु अम्मायिकी मोगुदु’ नाममा निर्माण भएको थियो। जसमा चिरञ्जीवी र विजयाशान्तिको अभिनय थियो। फिल्मले सासू र ज्वाइँको विवादको कथा बोल्छ। फिल्म तमिल, हिन्दी र बङ्ला भाषामा पनि रिमेक भएको थियो। हरेक भाषामा फिल्म सुपरहिट भएको थियो।
शेमारुले नयाँ पुस्ताका दर्शकलाई लक्षित गर्दै कथामा केही परिवर्तन गरेर निर्माण गर्ने जनाएको छ। निर्माण कम्पनीले कुन कलाकार र निर्देशकलाई लिएर फिल्म रिमेक गर्ने भन्ने विषयमा केही जानकारी दिएको छैन । तर फिल्ममा नयाँ कलाकार र निर्देशक लिइने बताइएको छ।