सिड्नीको वाक फर वेलफेयरमा तीन सयभन्दा बढी सहभागी, कल्याणकारी कोषको परिचालन पारदर्शी गरिने


welfare sydney 2 गैरआवासीय नेपाली संघ अष्ट्रेलिया, न्यू साउथवेल्स राज्य समितिले नेपाली विद्यार्थीका लागि वाक फर वेलफेयर सम्पन्न गरेको छ । सिड्नीको ब्राईटन ले ल्याण्ड पार्क द ग्राण्ड परेडमा शनिबार विहान ७ बजे यो पदयात्रा सुरु भएको थियो । यस पदयात्रामा एनआरएनका पदाधिकारीसहित सिड्नीका स्थानीय नेपाली समूदायका सदस्यहरु सहभागी थिए ।विद्यार्थीको निम्ति कल्याणकारी कोष निर्माण गर्ने उद्देश्यका साथ सूरु गरिएको वाक फर वेलफेयरको सिड्नी संस्करणमा सहभागी हुनेहरुले विद्यार्थीले प्रतिव्यक्ति ५० डलर प्रौढका लागि १ सय २० डलर र परिवारको निम्ति २ सय र दम्पत्तिको लागि १ सय ७० डलर तिरेका थिए । करिब तीन सय सहभागी भएको कार्यक्रममा अतिथिको रुपमा रकडेल काउन्सिलका मेयर बिल साराभिनोस्की, न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन आईसीसी संरक्षक ईन्द्रा वन, प्रवक्ता रञ्जु वाग्ले लगायत सहभागी थिए । कार्यक्रमको सुरुवातमा आयोजित औपचारिक कार्यक्रममा एनआरएन अष्ट्रेलियाका सचिव तोनु घोतानेले स्वागत गरेका थिए । उपस्थित अतिथिहरुले यस पुण्य कार्यमा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद दिएका थिए । welfare sydney1रकडेल काउन्सिलका मेयर सारभिनोस्कीले रकडेलमा नेपाली समूदाय सम्मानित रुपमा रहेको बताउँदै बढ्दो यो समूदायको आवश्यकतालाई आफुले ध्यान दिने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा महावाणिज्यदूत खड्काले आफुलाई पदयात्राले विद्यार्थी जीवनको याद दिलाएको बताउँदै सफलताको कामना गरेका थिए । यस्तै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले देशैभरि गरिने कार्यक्रमबाट एक लाख डलरको अक्षयकोष बनाइने बताउनुभयो । यस्तै एनआरएनका ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, युवा संयोजक विजय पोखरेल, प्रवक्ता रञ्जु वाग्ले, एनआरएन संरक्षक ईन्द्रा वन लगायतले विधानले विद्यार्थीलाई समेट्न नसके पनि उनीहरुका लागि छुट्टै कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । welfare sydneyवाक फर वेलफेयरका राष्ट्रिय संयोजक समिम अनवरले सिड्नीको कार्यक्रमको सफलताले ब्रिसबेन, पर्थ, मेलबर्न र एडिलेडमा समेत उत्साह थपेको बताएका थिए । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले समूदायमा यसले सद्भाव फैलाउने विचार व्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष डिला खरेलले पारदर्शी रुपमा विद्यार्थी कल्याण कोष सञ्चालन हुने बताएका थिए । यस्तै प्रायोजकहरुको तर्फबाट बोल्दै एक्सपर्ट एजुकेशन एण्ड माईग्रेसनका बद्री अर्यालले नेपाली समूदायसँग आफुहरु सधैं रहेको र यस किसिमको परोपकारी कार्यमा सहयोग निरन्तर रहने बताएका थिए । पदयात्रा सकिएपछि आयोजित कार्यक्रममा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए भने प्रसंसापत्र पनि वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन एनआरएन अष्ट्रेलियाका ससहचिव भिष्म भण्डारीले गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?