महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एसले मित्रवत प्रतिस्पर्धा गर्ने
कार्तिक १६, महोत्तरी । गठबन्धनले क्षेत्र नम्बर १ (क) मा लोसपाका पिताम्बर महतोलाई साझा उम्मेदवार बनाएता पनि नेकपा एसले मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ।
नेकपा एसका अध्यक्ष माधव नेपालको निर्देशनमा सुरेश राउतले गठबन्धनसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका हुन्।
गठबन्धनभित्रैबाट प्रदेशसभा (क) मा २ जना प्रतिस्पर्धी बन्ने भएका छन्। गठबन्धनभित्रका दल नेकपा एस र लोसपाको फरक(फरक उम्मेदवारको मनोनयन दर्ता भएपछी गठबन्धनले केहीदिन अगाडी लोसपाका उम्मेदवारलाई वैधता दिने निर्णय गरेको थियो।
चुनावी प्रचारप्रसारमा निक्कै अगाडी बढीसकेको र मतदाताहरुमा अन्यौल सिर्जना नहोस भन्ने उदेश्यले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिएको उम्मेदवार सुरेश राउतले जानकारी दिए।
प्रतिनिधिसभाका साझा उम्मेदवार गिरिराजमणी पोखरेललाई नै भोट मागिरहेको र प्रदेशमा भने आफ्नै लागि भोट मागेको उनको भनाइ छ।
राउतको मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयले साझा उम्मेदवार पिताम्बर महतोलाई चुनौती थपिएको छ। गठबन्धनभित्रैको दलले छुट्टै उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेपछि महतोलाई चुनौति थपिएको नेता बताउँछन्।