पहिलो दक्षिण एसियाली महिला बास्केटबल नेपालमा
पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता अर्को साता नेपालमा आयोजना हुने भएको छ । यही चैत १६ देखि २० सम्म काठमाडौँमा हुने प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रका टोलीले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल बास्केटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भुटान, श्रीलङ्का र माल्दिभ्सले भाग लिनेछन् भने आन्तरिक कारण देखाउँदै दुई राष्ट्र भारत र पाकिस्तानले भाग नलिने बताइएको छ । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पाले यसअघि एसियास्तरको मात्र महिला बास्केटबल हुने गरेकोे जानकारी दिँदै दक्षिण एसिया क्षेत्रमा भएको पहिलो प्रतियोगिता नेपालले आयोजना गर्न पाउनु गर्वको कुरा भएको बताउनुभयो ।
टोलीकी कप्तान सदिना श्रेष्ठले राम्रो खेलेर जसरी भए पनि घरमै उपाधि राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली मलेसियातर्फ
मलेसियाको २२ वर्षमुनिको राष्ट्रिय टोली (यु–२२)सँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही चैत १४ गते हुने खेलका लागि २३ खेलाडी र आठ पदाधिकारीसहितको टोली मलेसियाका लागि उडेको हो । टोलीमा विकेश कुथु, विशाल श्रेष्ठ र किरणकुमार लिम्बू, विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रवीन श्रेष्ठ, रञ्जीत धिमाल छन् । त्यस्तै, अन्य खेलाडीमा विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल, भरत खवास, विश्वास श्रेष्ठ, नवगुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामा छन् । त्यसैगरी, मुख्य प्रशिक्षक जापानी नागरिक ग्योउतोकु कोजी, प्रशिक्षक विराटजङ्ग शाहीलगायत मलेसिया प्रस्थान गर्ने टोलीमा रहेको नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । यसैबीच, आजै एन्फाका कावा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत पदाधिकारीले एन्फा कम्लेक्स सातदोबाटो, ललितपुरमा आयोजित कार्यक्रममा बिदाई गर्दै जितको शुभकामना दिनुभयो । नेपाल वायुसेवा निगमले मलेसियासम्मको यात्राका लागि ३१ सदस्यीय टोलीलाई टिकटमा ५० प्रतिशत सहुलियत दिएको एन्फाले जनाएको छ ।