विश्वभर रहेका नेपाली युवाहरुले नेपालको विकास र पुननिर्माणमा योगदान दिने
यतिबेला नेपालीहरु विश्वमा छरिएर रहेका छन् । मुख्यतः उच्च शिक्षाका लागि र रोजगारीका निम्ति विश्वका कुना कुनामा नेपाली पुगेका छन् । यसरी विदेशमा पुगेको जनशक्तिमा युवाको संख्या उल्लेख्य छ । युवाहरु देशको निम्ति केही गर्न चाहन्छन् । देशमा योगदान दिइरहेका पनि होलान् । तर, यस्तो योगदानलाई व्यवस्थित गर्नका लागि युवाहरुको अन्तर्राष्ट्रिय सम्मेलन आगामी अक्टोबरमा नेपालमा हुने भएको छ । गैरआवासीय नेपाली संघको आयोजनामा हुने यो युवा सम्मेलनमा देश बाहिर रहेका युवाहरु र देशमै केही गरौं भन्ने सकारात्मक सोच राख्ने युवाहरुको सम्मिलन हुनेछ । उनीहरुले घनिभूत छलफल गरेपछि आवश्यक योजनाहरुको पहिचान र तिनमा योगदान दिने लक्ष्य समेत राखेका छन् । आगामी अक्टोबरमा नेपालमा हुने विश्व युवा सम्मेलनको विषयमा जानकारी दिँदै एनआरएन युवा संयोजक विजय पोखरेलले भन्नुभयो, “अहिले हामीले सम्मेलनको पहल सुरु गरेका छौं । मुख्यतः नेपालमा रहेका युवा र हामी विदेशमा बस्ने युवाहरुको सोच, कार्यशैली र विचारलाई एकताबद्ध बनाउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्छ भन्नेमा म विश्वस्त छु ।”
युवा सम्मेलनमा विश्वभरि रहेका नेपाली युवाहरुको प्रतिनिधित्व हुने साथै नेपालमा रहेका युवाहरुसँग पनि सहकार्य गर्ने योजना छ । कार्यक्रममा विभन्न विषयमा र सहयोगका लागि पहिचान गरिएका क्षेत्रहरुको बारेमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । यिनमा भएको बृहद छलफलले सहयोगका क्षेत्र तोकिने भएको छ । नेपाली युवाहरु विश्वका विभिन्न देशमा गएर विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । उनीहरुको अनुभवले देशमा पुननिर्माण लगायत विकासका अन्य क्षेत्रमा योगदान दिन सकिने पोखरेलको ठहर छ । “अहिले हामीले म नै संयोजक रहेको खेल तथा युवा गतिविधि टास्क फोर्स मार्फत तयारी अघि बढाएका छौं । लोकराज बराल सहितका साथीहरु यसमा हुनुहुन्छ”, पोखरेलले भन्नुभयो । एनआरएनका कार्यकारी निर्देशक राजेश राणा पनि यस पटकको युवा सम्मेलनले नयाँ आयाम थप्नेमा विश्वस्त हुनुहुन्छ । “मुख्यत यो विश्वभरि छरिएका युवा र नेपाली युवाहरुबीचको सेतु बन्नेछ ।” उहाँले भन्नुभयो । पछिल्लो समयमा नेपाली युवाहरु अमेरिकी अन्तरीक्ष एजेन्सीदेखि ठूला ठूला कम्पनीहरुमा समेत रहेर काम गरिरहेका छन् । उनीहरुको शिप र दक्षताले विश्वमै योगदान दिइरहेको बेला नेपालमै पनि केही योगदान दिने उनीहरुको चाहनालाई सम्बोधन गर्न सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।