पारवहन तथा यातायात सम्झौता भ्रमणको सबैभन्दा ठूलो उपलब्धि प्रधानमन्त्री ओलीको भनाई


Rss_Images_1459079400623_Pro_Ktm_PM OLI china bata farkadhai-01प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल भएको बताउनु भएको छ । साताव्यापी लामो चीन भ्रमण पूरा गरी आइतबार अपरान्ह स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई देशबीच आपसी विश्वास एवं समझदारी अभिवृद्धि भएको बताउनुभयो । सभामुख ओनसरी घर्ती, सरकारका मन्त्रीहरु एवं नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको स्वागतपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संचारकर्मीसामु चिनीयाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली खछ्याङ लगायतसँगको उच्चस्तरीय भेटघाटले राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा भएका पारवहन, यातायात, भौतिक पूर्वाधार, लगानी, उर्जा, पर्यटन लगायतका विषयका छलफल र सम्झौताले सहयोगको दायरा फराकिलो पारेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ५ पृष्ठ लामो लिखित प्रेस नोट वाचन गर्दै पारवहन तथा यातायात सम्झौता भ्रमणको सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले सम्झौताले चीनीयाँ भूभागबाट निर्वाधरुपमा पारवहन स्वतन्त्रता पाउने कुरा सुनिश्चित गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा पारवहन सम्झौताका अतिरिक्त हिल्सा सीमा नाकामा कर्णाली नदीमाथि चिनीयाँ सहयोगमा पुल निर्माण गर्ने, नेपालमा तेल र ग्याँसको अन्वेषणको सम्भाव्यता अध्ययन गर्ने, दुई देशबीच स्वतन्त्र व्यापार सम्झौताको वार्ता आरम्भ गर्ने, पोखरा विमानस्थल निर्माण सम्बन्धमा सहुलियतपूर्ण ऋण लिने लगायतका सम्झौता भएका थिए ।
प्रधानमन्त्री ओलीले भ्रमणबाट चीनसँगको सम्बन्धको आधारशीला मजबुत भएको तर दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनसँगको नेपालको सम्बन्ध भने तुलना गर्न नमिल्ने बताउनुभयो । उहाँले सबै मित्र राष्ट्रसँग समानता र पारस्परिक हितका आकारमा सम्बन्ध सुदृढ र विस्तार गर्दै लैजाने भन्दै छिमेकीसँगको सम्बन्धलाई आपसमा तुलना गर्न नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओली सात दर्जन भन्दा बढी सदस्यको नेतृत्व गर्दै चैत ७ गते चीन जानु भएको थियो । उहाँले एक महिना पहिले भारतको साताव्यापी लामो भ्रमण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?