अष्ट्रेलियामा नेपाली पत्रकारिता मर्यादित बनाउन एन्जाको तीन बुँदे घोषणापत्र जारी


कार्तिक २४, काठमाडौँ । अष्ट्रेलियामा रहेका सक्रिय नेपाली पत्रकारहरुको संगठन अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा)को साधारणसभा समाप्त भएको छ। एन्जाले नयाँ कार्य समिति सहित तीन बुँदे होबार्ट घोषणापत्र जारी गर्दै साधारणसभा समाप्त गरेको हो।

एन्जाको होबार्ट घोषाणापत्रमा अष्ट्रेलियाको नेपाली पत्रकारितालाई अझ व्यवस्थित मर्यादित बनाउन र आचारसंहिताभित्र अडिग रही थप सशक्त बनाउने उल्लेख गरिएको छ।

एन्जाको साधारणसभाबाट पत्रकार चिरञ्जिवी देवकोटाको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति समेत चयन भएका छन्।

एन्जाको नेतृत्व चिरञ्जिवी देवकोटाले लिँदा उपाध्यक्षमा भने कृष्ण तिवारी, प्रकाश हुमागाई, छत्र शंकर चयन भएका छन्। त्यस्तै, महासचिवमा नारायण खड्का, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सचिवमा सरल गुरुङ, पब्लिक अफिसरमा गणेश भट्ट, प्रवक्तामा तक्दीर अधिकारी र सदस्यमा प्रतीक सिग्देल चुनिएका छन्।

यस्तो छ एन्जाले जारी गरेको तीन बुँदे घोषणापत्रः

१. पत्रकारिता समाजको अभिन्न अंग हो । व्यवसायिक पत्रकारिताले समाज निमार्णमा महत्वपूर्ण भूमिका खेल्दछ । अष्ट्रेलियामा नेपाली भाषाको पत्रकारितालाई थप व्यवसायिक, निष्पक्ष र तथ्यपरक बनाउनका लागि हामी अष्ट्रेलियन प्रेस काउन्सिलले निर्धारण गरेको आचारसंहिता र यहाँको कानूनी सिमाहरुलाई अक्षरस पालना गर्न कटिबद्ध छौं । पत्रकारिता समाजभन्दा बाहिर रहन सक्दैन भन्ने तथ्यलाई आत्मसाथ गर्दै असल, सूसुचित र एकताबद्ध समाज निर्माणमा योगदान दिन हामी व्यवसायिक पत्रकारितालाई जोड दिनेछौं ।

२. विदेशमा पनि नेपालीहरुका विभिन्न संघसंस्थाहरु सक्रिय छन् र त्यस्ता संगठनहरुको स्वतन्त्रता प्रति उत्तिकै सम्मान छ । पत्रकारितालाई व्यवसायिक बनाउने पाटोबाट हेर्दा, हामीले तयार पार्ने समाचारिय सामाग्रीहरु कुनै पनि राजनैतिक दल, क्षेत्र, वर्ग, जाती, धर्म, वर्ण र लिंगबाट निर्दिष्ट नभई, सिंगो नेपाल र नेपालीपनलाई उकास्नका लागि केन्द्रित रहनेछ । उल्लेखित विशेषताका आधारमा हामी हाम्रो पत्रकारितालाई प्रभावमुक्त राख्ने समेत प्रतिवद्धता गर्न चाहान्छौ ।

३. पत्रकारिता भनेको नियमित घटनाक्रमको जिम्मेववार अभिव्यक्ति हो । समाज विकासको तिब्रतासंगै पत्रकारितामा समेत प्राविधिक र दक्षताको खाचो टड्कारो बन्ने गरेको छ । समयको रफ्तारसंगै प्राविधिक र बद्लिदो समाजको भावना अनुसार दक्षता वृद्धी गर्न नसके, पत्रकारिताले समाजका आवश्यकताहरु पुरा गर्न सक्दैन । त्यसैले अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुलाई समयअनुकुल दक्षता वृद्धी गर्न राज्यदेखि केन्द्रसम्मै विभिन्न प्रशिक्षण र कार्यशालाहरु गरिने समेत प्रतिबद्धता गर्न चाहान्छौं । जसका लागि राज्यदेखि संघीय तहसम्म रहेका सरकारी र गैरसरकारी संघसंस्थासंग सहकार्य गरि आवश्यक प्रशिक्षणहरुको व्यवस्था गर्नेछौं । समाजको अपेक्षा पुरा गर्न समेत हामी सामाजिक व्यक्ति र संघसंस्थासंग समेत छलफल र अन्तरक्रिया गर्नेछौं ।

अन्तमा समाजबिना पत्रकारिता संभव छैन । समाजको क्रिया र प्रतिक्रिया बिना पत्रकारिता न्याश्रो हुन्छ । पत्रकारितालाई व्यवसायिक बनाउनका लागि नेपाली समाजमा भएका व्यवसायहरुको विज्ञापन समेत आवश्यक छ । विज्ञापनले नै मिडिया हाउसलाई आर्थिक आम्दानीको बाटो खोलिदिन्छ । जसले व्यवसायिक पत्रकारिता गर्न संचारकर्मीलाई बाटो प्रसस्त गरिदिन्छ ।

यही घोषणा मार्फत हामी अष्ट्रेलियाको सिंगो नेपाली समाजलाई पत्रकारितामार्फत समाजलाई एकताको सुत्रमा बाध्ने यात्रामा सहकार्य गर्न अपिल समेत गर्दछौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?